१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रति पर्यटनमन्त्रीको असन्तुष्टि



काठमाडौँ, २५ साउन । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्र देवले भैरहवास्थित लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सुरु नै नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

आज यहाँ आयोजित साक्षात्कारमा उहाँले राष्ट्रिय गौरवका ठूला आयोजनामध्येका लुम्बिनी र निजगढ विमानस्थलको निर्माण कार्य शून्य अवस्थामा नै रहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “मन्त्रालयअन्तर्गतका ठूला परियोजनाका बारेमा जानकारी लिइरहेको छु, पोखरा विमानस्थलको काम मात्रै सन्तोषजनक रुपमा अघि बढेको छ, चार वर्षमा निर्माण कार्य सकिन्छ, बाँकी दुई विमानस्थलको पनि अब निर्माण कार्य सुरु हुन्छ ।”

उहाँले मन्त्रालय मातहतका विभाग र महाशाखालाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सहकार्य गरी भूकम्पबाट प्रभावित र क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदासहित अन्य सम्पदालाई पुर्ननिर्माणमा अघि बढाउन निर्देशन दिएको बताउनुभयो ।

सो अवसरमा मन्त्री देवले वसन्तपुरको नौ तले दरबार निर्माण गर्न जिम्मा पाएको चिनियाँ सरकारको भ्वाइस प्रिमियर टोली डेलिगेशनका लागि यही साउन ३० गते नेपाल आउन लागेको जानकारी दिनुभयो ।

प्रकाशित : २५ श्रावण २०७४, बुधबार ००:००