काठमाडौँ, २४ साउन । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले नेपाली सञ्चारमाध्यमका बीचमा नेपाल टेलिभिजनलाई खरो प्रतिस्पर्धीका रुपमा प्रस्तुत हुन निर्देशन दिनुभएको छ ।
नेपाल टेलिभिजन कर्मचारी संघले आज आयोजना गरेको ‘संघीयतामा नेपाल टेलिभिजन’ विषयक अन्तक्र्रियामा उहाँले टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम र कार्ययोजना संघीयताको भावना र मर्मअनुरुप विविधता झल्कने हुनुपर्दछ भन्नुभयो ।
सरकार, राजनीतिक दल र आमजनताका विचार, भावना र दृष्टिकोण प्रवाह गर्ने नेपाल टेलिभिजनलाई निकै सुझबुझका साथ प्रतिस्पर्धालाई थेग्ने ढंगले अघि बढाउन पनि सञ्चार मन्त्री बस्नेतले सुुझाव दिनुभयो ।
हामीसँग भएको क्षमता र दक्षतालाई ठीक ठाउँमा प्रयोग गरिएमा फड्को मार्न समय नलाग्ने बताउँदै मन्त्री बस्नेतले भन्नुभयो, “स्रोत साधान, जनशक्ति र प्रविधि भए पनि निजी क्षेत्रका संघसंस्थाको तुलनामा सरकारी लगानी भएका संस्थाले सर्वाेत्कृष्ट नतिजा किन दिन सकेका छैनन् त्यसबारे छलफल र बहस हुनुपर्दछ ।
संस्था सुधारका लागि राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डको भागिदार बनाउन आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “संस्थामा ‘चेन अफ कमाण्ड’सहित अनुशासन र मर्यादामा बस्ने संस्कारको विकास हुन जरुरी छ । श्रद्धा र माया गर्ने तथा अनुशासनमा बस्ने परम्परालाई पनि सँगसँगै लैजानु पर्दछ ।”
श्रमजीवी पत्रकारको हकहित र सुरक्षाका लागि सरकार श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न प्रतिबद्ध रहेको जनाउँदै सञ्चार मन्त्री बस्नेतले मिडियामैत्री वातावरण नबनाई मन्त्रालयका कार्ययोजनाले खोजेजस्तो परिणाम दिन सक्दैन भन्नेमा आफू सचेत रहेको बताउनुभयो ।
प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले नेपाल टेलिभिजनले प्रस्तुत गर्ने कार्यक्रममा विविधता र विचारमा बहुलता देखिनुपर्दछ भन्नुभयो ।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दाहालले संस्थाको विकासका लागि ‘चेनअफ कमाण्ड’ र सकारात्मक सोचको संस्कार अभिवृद्धि हुन आवश्यक रहेको बताउनुभयो ।
महाप्रबन्धक गोविन्द रोक्काले संस्थाको उन्नयनका पक्षमा कर्मचारीले प्रस्तुत गर्ने जस्तोसुकै योजना कार्यान्वयन गर्न आफूहरु तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।
श्रमिकको अन्तर्राष्ट्रिय महासंघ नेपालका अध्यक्ष शंकर लामिछाने टेलिभिजनकर्मीले संस्था सुधारका लागि आफ्नो कामलाई प्रभावकारी तुल्याउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोविन्द धितालले टेलिभिजनलाई संघीयताको ढाँचामा लैजान भौतिक, जनशक्ति, बजेट र नीतिगत निर्णण तथा सुधारको खाँचो औँल्याउनुभयो ।
केन्द्रबाट तीन र क्षेत्रीय प्रशारणका रुपमा बाँकेको कोहलपुरबाट गरी चारवटा च्यानलबाट कार्यक्रम प्रसारण हँुदै आएको नेपाल टेलिभिजनका १९ स्टेशन टावर रहेको सो अवसरमा जानकारी दिइयो ।
प्रतिक्रिया