३० माघ २०८१, बुधबार । February 13, 2025

मुख्य खबर

केएमसीको औषधालयमा सिलबन्दी



काठमाडौँ, २३ साउन । औषधि व्यवस्था विभागले काठमाडौँ मेडिकल कलेज (केएमसी) सिनामंगलको औषधालयमा सिलबन्दी गरेको छ ।

उपचारका लागि कलेजमा भर्ना गरिएका झापाका चारवर्षे आरुष सुवेदीलाई म्याद सकिएको सुई दिएको पाइएपछि आज औषधालय बन्द गरिएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिनुभयो ।

कम्मरमा पीप जमेकाले उपचारका लागि साउन १५ गते सुवेदीलाई अस्पतालमा भर्ना गरिएको थियो ।

“चिकित्सकले सुवेदीलाई पासिम (एब्क्क्ष्ः) नामक एन्टिबायोटिक २५० एएमजी र ५०० एमजीको भाइल मिलाएर दिन सिफारिस गरिएकामा म्याद सकिएको २५० एमजिको सुई दिइएको पाइएको छ” महानिर्देशक ढकालले भन्नुभयो– “हामीले प्रारम्भिक जाँचमा बाँकी दुई वटा भाइल म्याद सकिएको पायौँ तर सुई दिने नर्ससँग कुराकानी गर्न बाँकी छ, अनुसन्धान गर्दैछौँ ।” उक्त औषधिले पीप सुकाउने काम गर्ने पनि उहाँले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठले सुवेदीका आफन्तले मन्त्रालयमा खबर गरेपछि आफू स्वयं अस्पतालमा गई औषधि व्यवस्था विभागलाई जानकारी गराएको बताउनुभयो ।

थप उपचारका लागि बिरामीलाई अहिले कान्तिबाल अस्पतालमा पठाइएको छ । बिरामीका आफन्त र अस्पतालबीच हालसम्मको उपचार निःशुल्क गर्ने सहमति भएको पनि प्रमुख डा श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित : २३ श्रावण २०७४, सोमबार ००:००