३० माघ २०८१, बुधबार । February 13, 2025

मुख्य खबर

घरमै बसी स्वावलम्बी बन्दै महोत्तरीका दृष्टिविहीन



महोत्तरी, २३ साउन । महोत्तरी भरतपुरकी २१ वर्षीया दृष्टिविहीन ललिता सिंह घरमा बसी दिनको रु ५०० सम्म आम्दानी गर्ने गर्छिन् । जन्मजात दुवै आँखा नदेख्ने ललिताले घरमा सञ्चालन गरेको किराना पसलबाट दैनिक रु ५०० सम्म आम्दानी हुन्छ ।

केही महिनाअगाडि सम्म रु एक–दुईका लागि अरूको सामुन्ने हात फैलाउने ललितलाई नेत्रहीन पुनः स्थापना केन्द्र वर्दिवासले रु १० हजार आर्थिक सहायता उपलब्ध गराएपछि उनी गत असारबाट स्वावलम्बीको जीवन बिताउन पाएकी छिन् । उनलाई घरका हरेक परिवारले हरपल सहयोग गर्दै आएको ललिताले बताइन् ।

त्यस्तै, लक्ष्मिनियाँ कान्तिबजारका ५० वर्षीय महेन्द्र ठाकुरले किराना पसलबाट मासिक रुपमा रु ४५ हजारसम्म आम्दानी गर्न सफल भएको बताउँछन् । जन्मजात दृष्टिविहीन भएका उनलाई पसल सञ्चालन गर्नका लागि नेत्रहीन पुनः स्थापना केन्द्रले रु १० हजार बराबरको सहयोग गरेको थियो । केन्द्रकै आर्थिक सहयोगमा निगौलका ५५ वर्षीय विलास राय व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । उनले तत्काल दुईवटा बाख्रा घरमा पाल्दै आएका छन् ।

बिना ब्याज ऋण उपलब्ध गराएर दृष्टिविहीनलाई परनिर्भरताबाट स्वावलम्बीतर्फ अगाडि बढाउने प्रयास आफ्नो संस्थाले गरेको नेत्रहीन पुनः स्थापना केन्द्रका फिल्ड सुपरभाइजर हरि भण्डारीले बताउनुभयो । अबको केही दिनमै जिल्लाका हरेक दृष्टिविहीनलाई पैसा चिन्ने तालीम दिइने तयारीमा रहेको भण्डारीले जानकारी दिनुभयो ।

यता आफ्नो संस्थाको आर्थिक एवम् प्राविधिक सहयोगमा वर्दिवासका आधा दर्जन महिलाले अगरबत्ती तालीम लिँदै आएको नेपाल नेत्रहीन संघका जिल्ला अध्यक्ष वीरेन्द्रकुमार महतोको भनाइ रहेको छ । महोत्तरीमा मात्रै नेत्रहीन पुनः स्थापना केन्द्रले रु एक लाख ८० हजार सहयोगस्वरुप वितरण गरिसकेको महोत्तरीका निर्देशक अमृत राईले बताउनुभयो । यस आवमा रु सात लाख ५० हजार बराबरको आर्थिक सहयोग व्यावसायिक रुपमा आर्थिक कारोबार गर्ने दृष्टिविहीनलाई उपलब्ध गराइने तयारीमा जुटेको निर्देशक राईले जानकारी दिनुभयो ।

पूर्णरुपमा आँखा नदेख्ने ८९ जना व्यावसायिक रुपमा कुनै न कुनै रुपमा जुडेको नेत्रहीन पुनः स्थापना केन्द्र वर्दिवासले जनाएको छ । सन् २०१६ मा जिल्लामा गरिएको सर्वेअनुसार १८ हजार ९२४अपाङ्गमध्ये ८५९ जना पूर्ण रुपमा आँखा नदेख्ने रहेका छन् ।

प्रकाशित : २३ श्रावण २०७४, सोमबार ००:००