३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

जिसस पाल्पाको निर्वाचन साउन २४ मा



रामपुर (पाल्पा), २३ साउन । जिल्ला समन्वय समिति पाल्पाको निर्वाचन साउन २४ गतेका लागि तय भएको छ । समितिको प्रमुखमा दुई र उपप्रमुखमा दुई जनाको नाम दर्ता भएको छ ।

प्रमुखमा नेपाली काँग्रेसका तर्फबाट हेमप्रसाद अर्याल, नेकपा एमालेका तर्फबाट दयाराज बस्याल, उपप्रमुखमा काँग्रेसका तर्फबाट शान्ति झेदी र एमालेका तर्फबाट मीरा मरासिनीको मनोनयन दर्ता भएको छ । खुल्ला सदस्यमा तीन पदका लागि चार जनाको मनोनयन दर्ता भएको छ । जसमा नेकपा एमालेका तर्फबाट ईश्वरीप्रसाद न्यौपाने, तुलबहादुर गाहा, भेषबहादुर वंशी र काँग्रेसका तर्फबाट लक्ष्मण हिताङ रहनुभएको छ ।

दलित, अल्पसङ्ख्यका तर्फबाट होमप्रसाद ठडराई, तीनजना महिला सदस्यमा इन्द्रकुमारी गाहा चिदी, कमला थापा र खरागती राना निर्र्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत सुवर्ण खनालले जानकारी दिनुभयो । निर्विरोध निर्वाचित सदस्यहरु सबैले नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिनुभएको हो ।

निर्वाचनमा २० जना मतदाताले एक प्रमुख, एक उपप्रमुख र तीनजना खुल्ला सदस्य पदमा मतदान गर्नेछन् । जिल्ला समितिमा नौ जनाको नयाँ समिति चयन हुनेछ ।

प्रकाशित : २३ श्रावण २०७४, सोमबार ००:००