३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

सवारी चालक अनुमतिपत्रको काम सहज रुपमा गर्न मन्त्री बलायरको निर्देशन



काठमाडौँ, २२ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सहज ढंगले सवारी चालक अनुमतिपत्र प्रदान गर्न यातायात व्यवस्था कार्यालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मन्त्री बलायरले आज दिउँसो सवारी चालक अनुमतिपत्र कार्यालय र साना–ठूला सवारी कार्यालय एकान्तकुनाको आकस्मिक निरीक्षण गर्नुहुँदै यस्तो निर्देशन दिनुभएको हो । उहाँले कामको निरीक्षण गर्दै अनुमतिपत्र लिन लिखित परीक्षा उत्तीर्ण गरेपछि बाँकी प्रक्रियाका लागि दुई महिना कुर्नुपर्ने व्यवस्थालाई सहज बनाउन आवश्यक सबै काम गर्ने व्यवस्था मिलाउन आह्वान गर्नुभयो ।

“कार्यालयमा इन्टरनेटको क्षमता बढाइनुपर्छ, अनलाइनबाटै अनुमतिपत्र फाराम भर्ने व्यवस्था गरिए पनि सहज नभएको गुनासा आएका छन्, यसलाई सहज बनाउन वैकल्पिक इन्टरनेटको व्यवस्था गरिनुपर्छ, अनलाइन सेवामा गइसकेपछि अनलाइन सेवा अवरुद्ध नहुने व्यवस्था कार्यालयले मिलाउनुपर्छ”, मन्त्री बलायरले भन्नुभयो ।

कम्प्युटरको हार्ड डिस्कको क्षमता बढाउन पनि उहाँले सम्बन्धित सबैलाई निर्देशन दिनुभयो । सवारी चालक अनुमतिपत्र लिन समस्या हुने गरेको सेवाग्राहीको गुनासो छ ।

प्रकाशित : २२ श्रावण २०७४, आइतबार ००:००