काठमाडौं ८, असार।प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले विद्यालयको भौतिक पूर्वाधार विकास गर्न तथा शैक्षिक स्तरोन्नतिका लागि सबैको मेहनत, सहयोग र सक्रियता आवश्यक रहेको बताएका छन्।
नेपाल पुलिस स्कूल साँगाको हाताभित्र नवनिर्मित २ वटा छात्रावास भवनको सोमबार (आज) उद्घाटन गर्दै ज्ञवालीले उक्त कुरा बताएका हुन्।
विद्यालयको शैक्षिक स्तरोन्नति तथा भौतिक पूर्वाधारको विकासको लागि विद्यालयका पूर्वसमादेशक, प्रिन्सिपल र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले निर्वाह गरेको भूमिकाप्रति आभार व्यक्त गरे।
देशको समृद्धिमा शिक्षाको महत्व र आवश्यकताबारे चर्चा गर्दै उनले विकासको आधारभूत तत्व नै शिक्षा रहेको र शिक्षामा गरेको लगानी कहिल्यै खेर नजाने बताए।
कोरोना भाइरस (कोभिड–१९) ले उत्पन्न गरेको विषम् परिस्थितिले विद्यालय सञ्चालनका साथै विद्यार्थीहरूमा पर्न गएको अप्ठ्यारो अवस्थालाई ‘भर्चुअल’ कक्षाले केही सहयोग गरेको उल्लेख गर्दै ज्ञवालीले उच्च आत्मबलकासाथ विद्यालय व्यवस्थापनले निभाएको भूमिकाको प्रशंसा गरे।
समारोहमा प्रहरी प्रधान कार्यालय आवास तथा भौतिक परियोजना निर्देशनालयका प्रहरी नायव उपरीक्षक ईश्वर थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।
विद्यालयको आन्तरिक श्रोतबाट निर्माण सम्पन्न भएका उक्त भवनहरूमध्ये ९ हजार १ सय २१ दशमलव २५ वर्गफिट क्षेत्रफलमा रहेको पहिलो छात्रावास भवन ३ करोड रूपैयाँ र १८ हजार ५ सय ५२ वर्गफिट क्षेत्रफलमा रहेको दोस्रो छात्रावास भवन ५ करोड रूपैयाँको लागतमा निर्मांण सम्पन्न भएको हो।
समारोहमा महानिरीक्षक ज्ञवालीले भवन निर्माणको क्रममा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै प्रहरी हवल्दारहरू धनलाल तामाङ, सीताराम शाक्य र गोरे गुरुङलाई पुरस्कारसमेत प्रदान गरेका थिए।
प्रतिक्रिया