
रियाद, साउदी अरब, भदौ । साउदी अरबले सरकारी स्वामित्वका दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमणपछि तेल र ग्यास उत्पादनमा कटौती गरेको छ । साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानका अनुसार आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कमी आएको छ । यो साउदी अरबले गर्ने कुल उत्पादनको झन्डै आधा हो । यमनस्थित हूथी विद्रोहीका एक प्रवक्ताले शनिबार नै एक विज्ञप्ति जारी गरी आक्रमणका लागि आफूहरूले १० वटा ड्रोन परिचालन गरेको बताएका थिए । शनिबार ड्रोन आक्रमणका कारण भएको आगलागीपछि ती दुई ठूला तेल प्रशोधन केन्द्रमा उत्पादन अवरूद्ध भएको छ । साउदी प्रेस एजेन्सीमार्फत सार्वजनिक भएको राजकुमार अब्दुल अजिज बिन सलमानको वक्तव्यमा उहाँले ड्रोन आक्रमणका कारण अब्काइक र खुरैस प्रशोधन केन्द्रमा तत्कालका लागि उत्पादन रोकिएको बताउनु भएको छ । अरामको भण्डार केन्द्रका प्रमुख कार्यकारी अधिकृतले दुवै प्रशोधन केन्द्रमा स्थिति नियन्त्रणभित्र रहेको बताउँदै आक्रमणबाट मानवीय क्षति भने बताएका छन् । यसैबीच ऊर्जा बजारमा आपूर्ति यथास्थितिमा रहेको सुनिश्चित गर्न अमेरिकाले आफ्ना साझेदारहरूसँग मिलेर काम गर्ने बताउनुभएको छ । अमेरिकी विदेशमन्त्री पोम्पेओले हिंसाका लागि इरानको सम्लग्नता रहेको भन्दै शनिबारको आक्रमण यमनी भूमिबाट गरिएको आधान नभेटिएका दावी गर्नुभएको छ । इरानले भने अमेरिकी दावीको खण्डन गर्दै तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा आफ्नो सम्लग्नतालाई अस्वीकार गरेको छ । अरामको विश्वको सबैभन्दा ठूलो तेल उत्पादक मात्रै नभई विश्वमै सबैभन्दा बढी नाफा कमाउने कम्पनी हो भने खुरैस प्रशोधन केन्द्रले विश्वमा गरिने खपतको झन्डै एक प्रतिशत तेल उत्पादन गर्छ भने अब्काइक अरामकोको सबैभन्दा ठूलो प्रशोधन केन्द्र हो ।
प्रतिक्रिया