१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

यादवको परिवारलाई रु दुई लाख



राजविराज, ३ भदौ । मन्त्रिपरिषद्को निर्णयअनुसार सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका वडा नं १५ देउरीभरुवाका बेपत्ता डोमी यादवका परिवारजनलाई शुक्रबार रु दुई लाख हस्तान्तरण गरेको छ ।

प्रजिअ भगिरथ पाण्डेले यादवकी धर्मपत्नी घनादेवीलाई सो रकम हस्तान्तरण गर्दै सरकारी राहत घरमै पुगेर वितरण गरिने जानकारी दिनुभयो । सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगतले समेत घनादेवीलाई रु पाँच हजार प्रदान गर्नुभयो । पीडित परिवारजनका लागि तीन महिनाको खाद्यान्नसमेत उपलब्ध गराइने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

यस्तै बाढीमा परेर मृत्यु भएका तिलाठी कोइलाडीका बालक कमलु सदाका परिवारलाई सरकारका तर्फबाट पठाइएको राहत रु दुई लाख उपलब्ध गराइएको छ । सो रकम र लत्ताकपडा जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रजिअ पाण्डेले घरमै पुगेर प्रदान गर्नुभयो ।
रोगको प्रकोप बढ्दै

एक हप्ता अगाडि वर्षासँगै विभिन्न खोला तथा नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा विभिन्न किसिमको रोग फैलिँदै गरेको छ । त्यहाँ झाडापखाला, विषमज्वर, ज्वरो, रुघाखोकी, श्वासप्रश्वास, जीउ चिलाउनेजस्ता रोग फैलेको स्थानीयवासीले जनाएका छन् ।

सप्तरीको दक्षिणी तथा पश्चिमी क्षेत्र र सदरमुकाम राजविराजलगायत हनुमानगर, शम्भुनाथ नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, बर्साइन, सकरापुर, बोदेवरसाइन, रुपनी, कंचनरुप नगरपालिका, सकरदही, जोगिनीया, भारदह, इनरुवा, किरपुरा, डलुवा बेलहीलगायत ग्रामीण तथा बजार क्षेत्रमा विभिन्न किसिमका रोगको प्रकोप फैलिएको बताइएको छ । जिल्लामा वर्षा र बाढीका कारण डुबानमा परेका बस्ती तथा अस्थायी शिविरमा दैनिक छाक टार्ने तथा स्वास्थ्य समस्या रहेको तर उचित उपचार हुन नसकेको बाढीपीडितको गुनासो छ । । जिल्लाको एक मात्र सरकारी अस्पतालमा दैनिक ३० देखि ४० जना बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा शुद्ध पिउने पानी तथा खानपान एवं सरसफाइमा ध्यान नदिइएकाले पनि महामारी फैलिनसक्ने सम्भावना रहेको चिकित्सकले बताएका छन् । बाढीपीडितको राहत तथा उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी पूर्णरुपमा परिचालित रहेकाले केही दिनमै बाढीपीडितको स्थितिमा सुधार आउने प्रजिअ पाण्डेले जानकारी दिनुभयो । सप्तरीमा बाढीबाट झण्डै २० हजार घरका एक लाख व्यक्ति प्रभावित भएका छन् भने छ जनाले ज्यान गुमाएका छन् ।

निःशुल्क स्वास्थ्य शिविर
हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ३ पोर्ताहामा विराट मेडिकल कलेज विराटनगरले शुक्रबार निःशुल्क शिविर सञ्चालन गरेको छ । सप्तरी जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा आयोजित शिविरमा बाढीपीडितको स्वास्थ्य परीक्षणसँगै निःशुल्क औषधिसमेत वितरण गरिएको छ ।

पोर्ताहा गाउँका ३६५ बाढीपीडित बिरामीको उपचार गरिएको स्थानीयवासी रामसेवक यादवले जानकारी दिनुभयो । यस्तै बाढीपीडितलाई लक्ष्य गरी तिलाठी कोइलाडी गाउँपालिका, कोइलाडी हटियामा समेत एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । विराट टिचिङ हस्पिटल टंकी सिनवारीको सहयोग तथा ड्रिम नेपाल युवा संघ सप्तरीको आयोजनामा ५०० बाढीपीडितलाई स्त्री तथा बाल रोग विशेषज्ञ र जनरल फिजिसियन गरी १५ विशेषज्ञ डाक्टरले स्वास्थ्य जाँच गरी औषधि दिएको बताइएको छ ।

प्रकाशित : ३ भाद्र २०७४, शनिबार ००:००