७ फाल्गुन २०८१, बुधबार । February 19, 2025

मुख्य खबर

सूचना प्रविधिको अत्यधिक प्रयोग बढाउँदै सरकार



काठमाडाँै, १ भदौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना प्रविधिको विकास गर्न सके मुलुकको कुल ग्राहस्थ उत्पादनमा वृद्धि गर्न सकिने बताउनुभएको छ ।

यहाँ आज आइसिटेक मिडियाले आयोजना गरेको ‘दोस्रो आइसिटी अवार्ड—२०१७’ वितरण समारोहमा उहाँले सूचना प्रविधिको अत्यधिक प्रयोग बढाउन सरकार लागिपरेको बताउनुभयो ।

“मुलुकको विकासमा सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेलेको छ” उहाँले भन्नुभयो, “यसको प्रयोगले आर्थिक समृद्धि पनि हासिल गर्न सकिने भएकाले सूचना प्रविधिको प्रयोग बढाउनुपर्दछ ।” सही ढंगबाट सूचना प्रविधिको विकास गरेमा पलायन युवालाई रोक्न सकिने उहाँको भनाइ थियो । बौद्धिक जनशक्तिलाई नेपालभित्र सामाजिक सुरक्षा दिएर रोक्नुपर्ने धारणा उहाँले राख्नुभयो ।

सो अवसरमा उद्योग मन्त्रालयका सचिव शंकर कोइरालाले नेपालले सूचना प्रविधिको प्रयोग गरेर आर्थिक समृद्धि हासिल गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा उत्कृष्ट तीन आइटी स्टार्टअप बसोबास नेपाल प्रालि, पाइला टेक्नोलोजी प्रालि र जेफ्टवर सोलुसन्स प्रालिका साथै तीन उत्कृष्ट आइसिटी उत्पादक परी, नेपाल भिआर र एभरेस्ट कास्टलाई सम्मान गरिएको थियो । त्यसैगरी आइसिटी पायोनियर अवार्ड २०१७ र आइसिटी डायस्पोरा अवार्ड क्रमशः प्रोफेसनल कम्प्युटर सिस्टमका प्रबन्ध निर्देशक सुरेशकुमार रेग्मी र इन्सेसान्ट रेन स्टुडियाका संस्थापक किरणभक्त जोशीलाई प्रदान गरिएको थियो ।

आइसिटेकका अध्यक्ष राजन लम्सालले सूचना प्रविधिमा काम गर्नेलाई प्रोत्साहन दिने उद्देश्यले सम्मान दिइएको बताउनुभयो ।

प्रकाशित : १ भाद्र २०७४, बिहिबार ००:००