५ फाल्गुन २०८१, सोमबार । February 18, 2025

मुख्य खबर

विषादी मापन केन्द्र सञ्चालनमा



बनियानी (झापा), १ भदौ । बिर्तामोडस्थित कृषि उपज थोक बजार केन्द्रमा सञ्चालनमा आएको विषादी मापन केन्द्रमा परीक्षण गरिएका खाद्यवस्तुमध्ये सबैभन्दा बढी स्याउमा विषादी रहेको पाइएको छ ।

विषादी मापन केन्द्रकी प्राविधिक सुष्मा खड्काका अनुसार करेला, भिण्डी, गोलभेँडा, खुर्सानी, च्याउ, पर्वल, बोडी, स्याउ, केरा, बन्दागोभी र निगुरोेको परीक्षण गर्दा सबैभन्दा बढी स्याउमा विषादी भेटिएको हो ।

परीक्षणका क्रममा स्याउमा विषादीको मात्रा सबैभन्दा बढी १३.५ प्रतिशत भेटिएको खड्काले जानकारी दिनुभयो । सबैभन्दा कम मौसमी तरकारीमा एक प्रतिशतसम्म पाइएको छ । भारतबाट आयात गरिएका तरकारीमा बढी विषादी रहेको पाइएको छ ।

केन्द्रमा विषादी परीक्षण मेसिन, कम्प्युटर, फ्रिज, फमहुड नामक केमिकल उत्पादन गर्ने मेसिनलगायत उपकरण रहेका छन् । सो केन्द्रमा अहिले नियमित रुपमा परीक्षण भइरहेको छ । केन्द्रमा कीटनाशक र ढुसीनाशक विषादीको परीक्षण गरिन्छ ।

विषादी परीक्षणमा ३५ प्रतिशतसम्म विषादी देखापरे हरियो (खान मिल्ने), ३५ देखि ४५ सम्म विषादी देखिए पहेँलो (केही दिन पर्खनुपर्ने) र ४५ भन्दा माथि विषादी देखापरे रातो (नष्ट गर्नुपर्ने) खड्काले बताउनुभयो ।

प्रकाशित : १ भाद्र २०७४, बिहिबार ००:००