काठमाडौँ, १५ असार । लमजुङ जिल्लाका शिक्षासेवी एवम् समाजसेवी श्रीकान्त अधिकारीको ६७ वर्षका उमेरमा आज बिहान उहाँकै निवास समीभन्ज्याङ लमजुङमा निधन भएको छ ।
नेपाली काँग्रेस लमजुङका पूर्व जिल्ला सदस्य एवम् सम्झना माविका संस्थापक तथा रेडक्रससहितका विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध अधिकारीको अर्बुद रोगका कारण निधन भएको हो ।
उहाँको आजै मादी नदी सिसाघाटमा अन्त्येष्टि गरियो । उहाँको पार्थिव शरीरमा मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले काँग्रेसको झन्डा ओेढाउनुभएको थियो । स्व अधिकारीका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ ।
यसैबीच काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज विज्ञप्ति जारी गरी शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशील अधिकारीको निधनले दुःख लागेको बताउँदै स्व अधिकारीप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया