२१ कार्तिक २०८१, बुधबार । November 7, 2024

मुख्य खबर

किसानको बेवास्ताले अनुदान फिर्ता हुने



बाबियाचौर (म्याग्दी), १२ असार । किसानले चासो नदेखाएपछि भूकम्प प्रभावित कृषकका लागि आएको अनुदान रकम अझैसम्म खर्च हुन सकेको छैन ।

जिल्ला पशुसेवा कार्यालयले पटक पटक सूचना जारी गर्दासमेत किसान सम्पर्कमा नआएपछि बजेट फिर्ता हुन लागेको हो । कार्यालयमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कोषबाट चालु आव २०७३÷७४ मा भूकम्प प्रभावित किसानलाई वितरण गर्न रु ६१ लाख ८९ हजार प्राप्त भएको थियो ।

उच्च प्रजनन क्षमताका बोका वितरण, दूध उत्पादन राहत र मासु उत्पादन वृद्धि कार्यक्रम शीर्षकमा किसानलाई अनुदान उपलब्ध गराउन बजेट प्राप्त भए पनि आवश्यकताअनुसार किसानबाट माग नआएको कार्यालयले जनाएको छ ।

भूकम्प प्रभावित कृषकलाई बाख्राको गोठ निर्माण, भकारो सुधार, बोका वितरण, बङ्गुरका पाठापाठी खरिद, घाँसको बीउ, पशु शिविर सञ्चालन गर्न जिल्ला पशुसेवा कार्यालयलाई सो बजेट प्राप्त भएको हो । एकसय २५ जना कृषकबाट मात्र अनुदान रकम लिन माग आएको पशु चिकित्सक जीवनप्रसाद आचार्यले बताउनुभयो ।

भूकम्प प्रभावित प्रतिकिसान रु १० हजारदेखि २५ हजारसम्म अनुदान दिन सकिने कार्यक्रम भएको उहाँले बताउनुभयो । पटक पटक सूचना गर्दा पनि आवश्यक मात्रामा किसानबाट माग नआएको पशुसेवा कार्यालयका पशु विकास अधिकृत नरबहादुर बानियाँले बताउनुभयो ।

“अनुदान आएको छ, लैजानुस् भनेर पत्रपत्रिका र एफएममार्फत जानकारी गराएका छौँ”, पशु विकास अधिकृत बानियाँले भन्नुभयो – “अनुदानप्रति किसानले नै चासो देखाएनन् करिब रु ३० लाख फिर्ता हुने भयो ।” अझै पनि अनुदान लिन इच्छुक कृषक आएमा अनुदान दिन सकिने कार्यालयले जनाएको छ ।

प्रकाशित : १२ असार २०७४, सोमबार ००:००