काठमाडौँ, ११ असार । उद्योग मन्त्रालयले हरेक जिल्लाको सदरमुकाममा रहेका स्थानीय तहमा लघु, साना तथा घरेलु कार्यालय राख्न पत्राचार गरेको छ ।
स्थानीय तह गठन भएसँगै उद्योग क्षेत्रलाई स्थानीय तहमा लैजान मन्त्रालयले ७५ वटै जिल्लाका घरेलु तथा साना उद्योग विकास समिति र विभागलाई पत्राचार गरेको हो ।
उद्योग मन्त्रालयका प्रवक्ता पुरुषोत्तम नेपालले देशको औद्योगिक विकासका लागि मन्त्रालयले हरेक स्थानीय तहमा उद्योग कार्यालय राख्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले हरेक जिल्ला सदरमुकाममा रहेका स्थानीय तहमार्फत जिल्लाभरी सेवा दिने र पछि सबै स्थानीय तहमा उद्योग शाखाका रुपमा विकास गर्ने तयारीमा छौँ ।”
घरेलु तथा साना उद्योग विकास समितिका निमित्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार थापामगरले समितिले चार दशकदेखि स्थानीय तहलाई लक्ष्य राखेर काम गरेको र आफूहरु स्थानीय तहमा जान तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा गएर काम गर्दै गर्दा हामीले लिँदै आएको सेवा, सुविधा र वृत्ति विकासलाई कुनै असर नपरोस् ।”
घरेलु तथा साना उद्योग महासङ्घका महासचिव डम्बरप्रसाद रेग्मीले उद्योग मन्त्रालयले स्थानीय तहमा उद्योग कार्यालय राखेर सेवा दिन लागेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले विकास समितिका कर्मचारीलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिनुपर्ने बताउनुभयो । हाल घरेलु तथा साना उद्योग विकास समितिमार्फत ४८ जिल्ला र घरेलु तथा साना उद्योग विभागबाट २७ जिल्लामा गरी देशभरका ७५ जिल्लामा साना उद्योग सम्बन्धी सेवा दिइँदै आइएको छ ।
प्रतिक्रिया