२६ माघ २०८१, शनिबार । February 8, 2025

मुख्य खबर

वनलाई समृद्ध बनाउन वन दशक आयोजना



काठमाडौँ, ११ असार । वन विभागले वनक्षेत्रको संरक्षण तथा गुणस्तर अभिवृद्घि गरी वनक्षेत्रलाई देशको समृद्धिको आधार बनाउनका लागि ‘वन दशक आयोजना २०७४—०८०’ ल्याएको छ ।

विभागले वन, जैविक विविधता तथा जलाधारको संरक्षण र व्यस्थापनमा व्यापक जनसहभागिता गराई स्थानीय एवम् राष्ट्रिय अर्थतन्त्रमा वन क्षेत्रले दिनसक्ने योगदान बढाउनका लागि उक्त आयोजना अगाडि सारेको हो ।

विभागका प्रवक्ता ईश्वरी पौडेलले २०७१ देखि ०८० सम्मलाई वन दशकका रुपमा सरकारले मनाउँदै आए पनि वन क्षेत्रको विकासलाई अझ व्यापक तरिकाले अगाडि बढाउन सो आयोजना ल्याइएकोे बताउनुभयो । उहाँले भन्नुभयो, “वनको संरक्षण गर्नुका साथै यसलाई अर्थतन्त्रसँग जोड्न यस्तो कार्यक्रम अगाडि सारेका हौँ ।”

विभागले बृहत् वृक्षारोपण अभियान सञ्चालन गर्ने र वनको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्ने, काष्ठ र गैरकाष्ठ वन पैदावारको संरक्षण, प्रवद्र्धन र विस्तार गर्ने, सामाजिक परिचालकमार्फत वन र वातावरण विकासप्रति सचेतना, सजगता र सक्रियता बढाउने, वनबाट उत्पादन हुने काष्ठ र गैरकाष्ठ वन पैदावारको संरक्षण, सदुपयोग, व्यवसायीकरण, प्रशोधन तथा गुणस्तर वृद्धि गरी मूल्य अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।

यस्तै वन, भू–तथा जलाधार एवम् जैविक विविधताको प्रभावकारी संरक्षण, विकास र विस्तार एवम् पारिस्थितिकीय प्रणालीमा सन्तुलन कायम गरी वातावरणीय सेवा सुनिश्चित गर्ने, वनक्षेत्रमा निजी क्षेत्रको आकर्षण, सहभागिता र लगानी अभिवृद्धि गर्ने, वन उद्यम प्रवद्र्धन गर्ने जनाएको छ ।

विभागले वन दशक अभियानको पहिलो चरणमा तराई तथा भित्री मधेसका १९ जिल्लामा सो कार्यक्रम सञ्चालन गरे पनि आगामी दिनमा यसलाई विस्तार गर्दै लैजाने प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००