काठमाडौँ, ४ असार । संविधानको नयाँ संरचनामा मुलुकमा स्थापना गरिने सङ्घीयतामा अन्तर्राष्ट्रिय अभ्यासअनुसार सुरक्षा निकायको व्यवस्थापन गर्नुपर्नेमा विज्ञले सुझाउनुभएको छ ।
‘डिफेन्स क्यारियर एकेडेमी नेपाल’ले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा तीनै सुरक्षा निकायका प्रमुख तथा विज्ञले सेना तथा सशस्त्र प्रहरीलाई केन्द्रको नियन्त्रणमा र प्रहरीलाई सङ्घको मातहतमा व्यवस्थापन गर्नुपर्नेमा सहभागीले जोड दिनुभयो ।
सशस्त्र प्रहरीका पूर्वप्रमुख महानिरीक्षक शैलेन्द्र श्रेष्ठले स्थानीय तहको आवश्यकताअनुसार प्रहरी जनशक्तिको व्यवस्थापन गर्नुपर्ने तथा सशस्त्र केन्द्रको मातहतमा रहनेगरी जहाँ पनि परिचालन गर्नेगरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्व सहायक रथी हेमकर्ण शमशेर जबराले सेना राष्ट्रिय चरित्रको सङ्गठन भएको बताउँदै सातै प्रदेशमा पृतना स्थापना गरी सेनालाई केन्द्रको समन्वयमा सुरक्षाको जिम्मेवारी दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
महानगरीय प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक छविलाल जोशीले अन्तर्राष्ट्रिय अभ्यासअनुसार सुरक्षा निकायको व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै सङ्गठनमा अब आउने नयाँ पुस्ताले जनताको मानवाधिकारलाई प्राथमिकतामा राखेर कार्य गर्नुपर्ने र विधिसम्मत नभएका निर्देशन मान्न नहुने बताउनुभयो ।
पूर्वप्रहरी उपरीक्षक गोविन्द पौडेल, विज्ञ विश्व कार्की, डा राजेन्द्र केसी लगायतले प्रदेशअनुसार भूगोल र जनसङ्ख्यालाई सन्तुलित हुनेगरी सुरक्षाकर्मीको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैबीच, सोही कार्यक्रममा प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षकको पदमा सफल भएका उम्मेदवारलाई सम्मान गरिएको थियो । मुलुकमा पहिलोपटक सेना, सशस्त्र र जनपद प्रहरीको सेवामा जान चाहने उम्मेदवारलाई न्यूनतम मूल्य तथा केही उम्मेदवारलाई निःशुल्क तयारी कक्षा डिफेन्स क्यारियर एकेडेमीले सञ्चालन गर्दै आएको छ ।
विभिन्न सम्पदास्थल तथा वाग्मतीको सरसफाइका साथै अन्य सामाजिक कार्यमा समेत सो संस्था सक्रिय छ ।
प्रतिक्रिया