२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता



काठमाण्डौ । निर्वाचन आयोगका पदाधिकारीहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । भेटघाटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपाल सरकारका मुख्यसचिव श्री शंकरदास वैरागीको समेत उपस्थिति रहेको थियो । भेटघाटमा राष्ट्रिय सभाको रिक्त सदस्यको निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचन र एकीकृत निर्वाचन कानूनका विषयलगायतका अन्य समसामयिक विषयहरूमा छलफल तथा परामर्श भएको थियो ।

सो अवसरमा माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट निर्वाचित सदस्य खिमलाल भट्टराई ९अन्य समूह० को २०७९ असोज २३ मा राजीनामा स्वीकृत भई रिक्त पदको उपनिर्वाचन गर्र्ने, वर्तमान राष्ट्रपतिको पदावधि २०७९ फागुन २८ गतेसम्म हुने भएकाले सो अगाडि राष्ट्रपति पदको निर्वाचन र राष्ट्रपतिको निर्वाचन भएको १५ दिनभित्र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गराउनुपर्ने अवस्था रहेको जानकारी गराएका थिए । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ मा कुनै सदस्यको पदावधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएमा बाँकी अवधिका लागि रिक्त भएको मितिले ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले उपनिर्वाचन गराउनुपर्ने व्यवस्था छ । सोबमोजिम मिति तोक्न आयोगले सरकारलाई लिखित परामर्श दिने व्यवस्था अनुसार आउँदो माघ २५ गते बुधबार राष्ट्रियसभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई आयोगले परामर्श दिइएको छ ।

यसैगरी आयोगका तर्फबाट तयार भएको निर्वाचनसँग सम्बन्धित एकीकृत निर्वाचन कानूनको मस्यौदा नेपाल सरकारमार्फत संघीय संसदको पहिलो अधिवेशनमा पेश गर्ने तयारीमा आयोग जुटेको व्यहोरा समेत जानकारी गराइयो । उक्त अवसरमा सम्माननीय प्रधानमन्त्रीले २०७९ वैशाख ३० गते स्थानीय तह र मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गराएकामा आयोगलाई धन्यवाद दिए । उनीले आयोगले प्रस्ताव गरेका राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको विषयमा आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न तथा एकीकृत निर्वाचन कानूनलाई अगाडि बढाउन नेपाल सरकार तयार रहेको स्पष्ट पारे । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब हुने निर्वाचनका लागि आवश्यक पर्ने वित्तीय सहयोग जुटाउन मन्त्रालय तयार रहेको बताए । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आयोगको सम्पर्क मन्त्रालयका रूपमा गृह मन्त्रालयबाट गर्नुपर्ने सम्पूर्ण सहयोग उपलब्ध गराइने विश्वास व्यक्त गरे । सो अवसरमा निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमार तुलाधर र आयोगका सचिव गोकर्णमणि दुवाडीको उपस्थिति रहेको थियो ।

प्रकाशित : १८ पुस २०७९, सोमबार ००:००