झापा। अरुणपूर्वका नौ जिल्लालाई ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान राज्य घोषणा गरिनुपर्ने माग गर्दै आएका लिम्बुवान नेता कमल छाराहाङको आज निधन भएको छ ।
धनकुटाको आठपरियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा उहाँलाई आज हृदयाघात भएपछि मोरङको विराटनगरस्थित न्युरो अस्पताल पु¥याइएको थियो ।
उहाँको उपचारकै क्रममा निधन भएको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराकले जानकारी दिए।
उहाँले केही समयअघिमात्रै लिम्बुवान मुक्ति मोर्चा ९सङ्घीयवादी० पार्टी खोलेका थिए । उनी सो पार्टीको केन्द्रीय अध्यक्ष हुन ।
मोरङ स्थायी घर भएका छाराहाङले लामो समयदेखि अरुणपूर्वका नौ जिल्लालाई छुट्टै लिम्बुवान राज्य घोषणा गर्नुपर्ने एजेन्डालाई अघि सारेका थिए।
सङ्घीय लिम्बुवान पार्टी नेपालका सर्वोच्च नेतासमेत रहनुभएका उहाँ यसअघि नेपाल राष्ट्रिय जनजाति पार्टीका संस्थापक, राष्ट्रिय जनमुक्ति पार्टीको सङ्गठन विभाग प्रमुख, जनमुक्ति पार्टीको केन्द्रीय अध्यक्ष, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष, सङ्घीय लोकतान्त्रिक पार्टीको अध्यक्ष थिए।
छाराहाङका श्रीमतीसहित दुई छोरा र एक छोरी रहेका छन् ।
यसैबीच, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष लिङ्देनले छाराहाङको निधनप्रति दुःख व्यक्त गरेका छन् । रासस
प्रतिक्रिया