२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

एसिड हानिएको खबर सत्य नभएको खुलासा !



काठमाडौं, २३ साउन । काठमाडौंको बौद्धस्थित चुच्चेपाटीमा गए राति एक व्यक्तिले श्रीमती र छोरीलाई तेजाब हानेको भनेर हल्ला चल्यो । घटना गम्भीर रहेको भन्दै प्रहरी तत्काल घटनास्थल पुग्यो तर घटनाको अनुसन्धान गर्दा त्यहाँ तेजाब नभई रङमा लगाइने तारपिन तेल छ्यापेको पाइएको छ ।

रङरोगनको काम गर्ने राजन विष्टले घर झगडा हुँदा गए राति श्रीमती र छोरीलाई उक्त तेल छ्यापेका हुन् ।

महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले तेजाब हानेको खबर आएपछि प्रहरी टोली पुगेर बुझ्दा तारपिन तेल छ्यापेको पाइएको राससलाई बताए ।

बढी रक्सी खाइरहने हुँदा विष्टकै कारण बेलाबेलामा घर झगडा हुने गरेको थियो । गए राति पनि सोही प्रक्रिया दोहोर्याउँदा उनले तारपिन तेलले हानेको पाइएको ज्ञवालीले बताए । छोरीको आँखामा तेल परेकाले तिलगङ्गा आँखा अस्पतालमा सामान्य उपचारपछि फर्किएको बताइएको छ । आमालाई भने केही भएको छैन । रासस

प्रकाशित : २३ श्रावण २०७७, शुक्रबार ००:००