काठमाडौं ९, साउन । युवतीलाई एसिड प्रहार गरेको अभियोगमा दुई जनालाई प्रहरीले काठमाडौंको डल्लुबाट पक्राउ गरेको छ।
काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले मोहम्मद आलम र मुन्ना मोहम्मदलाई पक्राउ गरेको हो।
पक्राउ परेका मोहम्मद रौतहटको लक्ष्मीपुर घर भई डल्लुमा बस्दै आएका छन्। मुन्ना भने भारतीय नागरिक हुन्। उनी डल्लुमै कालीगढको काम गर्दै आएका छन्।
महानगरीय अपराध महाशाखाले राति ११ बजेतिर उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।
उनीहरूले ओखलढुङ्गाकी २२ वर्षीया पवित्रा कार्कीमाथि सीतापाइलामा एसिड प्रहार गरेका थिए।
दही किन्न भनेर कोठाबाट निस्किएकी उनलाई एसिड प्रहारपछि उनीहरू फरार थिए।
त्यसपछि काठमाडौं उपत्यकाको सबै नाका बन्द गरिएको थियो। र, सीसीटीभी फुटेजको आधारमा प्रहरीले हुलिया पनि बताएर खोजतलास गर्दा दुबै जनालाई अन्ततः पक्राउ गर्न प्रहरी सफल भएको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा युवतीले अर्कै केटालाई मन पराएपछि रिसले एसिड प्रहार गरेको अभियुक्तहरूले बताएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया