२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

बाढीमा फसेका दुई जनाको नेपाली सेनाद्वारा उद्धार



इलाम, ६ साउन । गएराति माईखोलामा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ । इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको उद्धार गरेको हो । माइजोगमाई गाउँपालिका–५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जोजो लिम्बूलाई नेपाली सेनाको टोलीले गएराति उद्धार गरेको हो ।
माइजोगमाईको सिरिसे र इलाम नगरापालिका–५ जोड्ने झोलुङगे पुलभन्दा केही माथि रहेको गोठमा दुवैतिरबाट बाढी आएपछि दुबै जना फसेका थिए । सो खबर पाएलगत्तै पुगेको नेपाली सेनाले उनीहरुको सकुशल उद्धार गरेको थियो । भङ्गालो फाटिएर दुईतिर भएपछि बीचमा रहेको गोठमा उनीहरु आपतमा परेका थिए ।

साँझमा बाढीमा फसेका उनीहरुलाई राति सकुशल उद्धार गरिएको थियो । रातिको समयमा लाइफ ज्याकेट लगाएर आवश्यक सुरक्षाका साथ उनीहरुको सफल उद्धार गरिएपछि परिवारमा समेत खुशीयाली छाएको छ ।

पूर्वी पहाडका विद्युत् उत्पादनमा समस्या

आइतवारदेखि निरन्तर परेको वर्षाका कारण पूर्वी पहाडी जिल्लामा सञ्चालित केही आयोजनाबाट बिजुली उत्पादन बन्द भएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीका कारण इलामसहित पाँचथर र ताप्लेजुङबाट सञ्चालित अधिकांश जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन ठप्प भएको हो ।

जम्मा भएर आएको भेलका कारण कतै विद्युत् उत्पादनगृहभित्र नै पानी पसेर समस्या आएको छ भने कतै पहिरोका कारण पाइपमा समेत क्षति पुगेको काबेली करिडोर प्रसारण लाइन आयोजनाले जानकारी दिएको छ । कतिपय आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको र केही आयोजनाको कम मात्रै बिजुली उत्पादन हुन थालेको छ । इलामको पुवाखोला जलविद्युत् आयोजनामा सबै पानी पसेर समस्या भएको छ । त्यस्तै पाँचथरमा सञ्चालित विभिन्न आयोजनाबाट उत्पादन भएको बिजुली घटेको छ । पाँचथरमा ३७ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो तर हाल घटेर करिब आठ मेगावाट मात्रै उत्पादन भएको काबेली करिडोरले जानकारी दिएको छ ।

पाँचथर र ताप्लेजुङको सीमामा पर्ने काबेलीका विभिन्न आयोजनाबाट ४० मेगावाट बिजुली उत्पादन हुँदै आएकामा त्यो पनि हाल घटेको छ । वर्षा बढी हुँदा हिउँदका दिनमा कम चलेका आयोजनाको उत्पादन वृद्धि भए पनि पहिरो र बाढीका कारण कतिपय विद्युत् उत्पादनमा क्षतिसमेत भएको छ ।

प्रकाशित : ६ श्रावण २०७७, मंगलबार ००:००