काठमाडौं ६, साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बस्दैछ। बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने छ।
बैठकमा पूर्वमाओवादी खेमा लचक हुने देखिएको छ। सोमबार पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वमाओवादीसम्बद्ध स्थायी समिति सदस्यहरूसँग पार्टीको विवाद र निकाससँगै महाधिवेशनलगायत विषयमा ‘ब्रिफिङ’ गरेका थिए।
सो क्रममा स्थायी समिति सदस्यहरूले पार्टी एकतालाई जोगाउँदै दुई अध्यक्षले नै समस्याको समाधान गर्नुपर्ने सुझाएका थिए।
‘पार्टी एकतालाई जोगाउनुहोस् र दुई अध्यक्षले नै समस्याको निकास निकाल्नुहोस् भन्यौं’, स्थायी समिति सदस्य हरिबोल गजुरेलले टुँडिखेलसँग भने, ‘तर, अध्यक्ष प्रचण्डले आफूहरूले प्रयास गर्दा पनि नसकेकोले अर्का अध्यक्ष ओलीबाटै समस्या समाधान गर्नुपर्छ भन्नुभयो।’
त्यसपछि आज (मङ्गलबार) को बैठकमा प्रचण्ड लचकताका साथ प्रस्तुत हुने अनुमान गरिएको छ। तर, वरिष्ठ नेता माधव नेपाल पक्ष पनि प्रचण्डको केही दिनदेखिको गतिविधिका कारण सशंकित बनेका छन्।
ओलीसँग दाहाल मिलेको नेपाल पक्षीय नेताहरूले भन्न पनि थालेका छन्। यसअघि प्रचण्डले नेता नेपालसँग मिलेर ओलीको अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा मागेका थिए।
पार्टी र सरकार दुबै प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसकेको दाहाल–नेपाल पक्षको आरोप थियो।
प्रतिक्रिया