काठमाडौं ६, साउन । कोशी ब्यारेज नियन्त्रण कक्षले सप्तकोशी नदीमा पानीको सतहले खतराको तह पार गरेको जनाएको छ।
कक्षका अनुसार आज (मङ्गलबार) बिहान ६ बजे मापन गरिँदा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक रहेको छ ।बाढी आएपछि सप्तकोशीमा बहाव उच्च भएको र ५६ वटा ढोकामध्ये ४६ वटा खोलिएको छ।
नदीमा पानीको सतह यो वर्षकै उच्च मापन भएपछि बहाव थेग्न नसक्ने भन्दै ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । २ लाख क्युसेक प्रतिसेकेन्ड बहाव मापन भएपछि खतराको तह पार गरेको मानिन्छ।
जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सुनसरी र सप्तरीका तटीय क्षेत्रमा नागरिकलाई भोलि (बुधबार) बिहानसम्म उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
सूचना केन्द्रले पूर्वी राप्ती जलाधारको रजैया बाढी मापन केन्द्रमा जल सतह सतर्कता आसपास पुगेको जनाएको छ।
बाढी बढीरहेको भन्दै तल्लो तटीय क्षेत्र र चितवनको सौराह आसपासका नागरिकलाई दिउँसोसम्म सतर्क रहन केन्द्रको आग्रह छ।
प्रतिक्रिया