काठमाडौं २५, असार । गृह मन्त्रालयले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा अबिरल वर्षापछि आएको बाढी पहिरोका कारण पुगेको धनजनप्रति दुःख प्रकट गर्दै मृतकहरूप्रति समवेदना प्रकट गरेको छ।
मन्त्रालयले वर्षाका कारण आएको बाढी पहिरोमा परी दुई जनाको मृत्यु भएको, घाइते भएका छ जनाको उद्धार गरी काठमाण्डौंमा ल्याई उपचार भैरहेको, १६ घरहरू पूर्णरुपले क्षति भएको र २१ जना स्थानीय अझै पनि बेपत्ता भएको जनाएको छ।
जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बाढी पहिरोग्रस्त क्षेत्रमा बेपत्ताहरूको खोजबिन गर्दै राहत कार्यमा खटिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए।
जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकले बाढी पहिरो पीडित ३० परिवारलाई पुग्ने त्रिपाल, मेट्रेस, भाँडाकुंडा, लत्ताकपडा, कम्बल, खाद्य पदार्थलगायतका राहत सामाग्रीहरू स्थानीय विपद् व्यवस्थापन समितिलाई आज (बिहीबार) नै हस्तान्तरण गरी सकेको पनि प्रवक्ता शर्माको भनाइ छ।
अबिरल वर्षाका कारण खोज, उद्दार, राहत लगायतका कार्यहरूमा कठिनाई भएतापनि जिल्लास्थित विभिन्न निकायहरू परिचालन भएका छन्।
मन्त्रालयले निरन्तर वर्षा भइरहेको हुँदा जोखिममा रहेका नागरिकहरूलाई उच्च सर्तकता अपनाउनु अनुरोध पनि गरेको छ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/07/107794904_3579098318771780_5477877931676226414_n-724x1024.jpg?resize=720%2C1018)
प्रतिक्रिया