२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

आन्तरिक मतभेद टुङ्ग्याउन ओली-प्रचण्डबीच छलफल सुरु



काठमाडौं २३, असार । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल सुरु भएको छ।

दुई अध्यक्षबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको प्रचण्डको सचिवालयले जनाएको छ।

यसअघि हिजो (सोमबार) पनि दुई अध्यक्षबीच वान टु वान छलफल भएको थियो। तर, छलफलमा के भयो भन्ने खुलाइएको छैन। सोही छलफलको निरन्तरताको रूपमा आजको छलफललाई लिइएको छ।

उक्त पार्टीको स्थायी समिति बैठकपछि पार्टीको आन्तरिक मतभेट झनै बढेको हो। पार्टीभित्रको मतभेद विभाजनतिर उन्मुख भएपछि पार्टीका दोस्रो तहका नेताहरूले खबरदारी गरेका छन्।

स्थायी समिति बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले ओलीको कार्यशैली एक्लौटी भएको, पार्टी एकताबद्ध बनाएर सञ्चालन नगरेको ,सरकार पनि प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसकेको र पदीय मर्यादाभन्दा बाहिरको विवादास्पद कुरा गरेको भन्दै दुबै पदबाट राजीनामा दिन माग गरेका थिए।

त्यसपछि नेकपाभित्रको आन्तरिक कलह झन चर्किएर गएको हो। दुई अध्यक्षबीच समझदारी गरेर कलहलाई व्यवस्थापन गर्दै पार्टी एकतालाई थप मजबुत बनाउन छलफललाई निरन्तरता दिइएको नेकपाले जनाएको छ।

असार १० गतेदेखि बसेको स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट ओलीको राजीनामा माग भएपछि फुटको संघारमा पुगेको नेकपा विवाद रोक्नको लागि प्रचण्डकै प्रस्तावमा एक्ला–एक्लै वार्ता भएको नेताहरुले बताएका छन्।

नेताहरुले दुई अध्यक्षबीचको आजको छलफल सकारात्मक हुने र त्यसले सहमतिको खाका बनाउने संभावना रहेको एक नेताले बताए।

प्रकाशित : २३ असार २०७७, मंगलबार ००:००