२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित, आगामी २४ गते बस्ने



काठमाडौं २२, असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ।

यही असार २४ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको हो। यसअघि पनि दुई पटक बैठक स्थगित भएको थियो।

स्थायी कमिटी बैठक सुरू भएपछि सत्तारूढ नेकपाको आन्तरिक मतभेद झनै चर्किएको हो।

पार्टी विभाजन हुनेसम्मको आंकलन गरिएका बेला मतभेद मत्थर पार्न पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफलका लागि नै बैठक स्थगित गरेको नेकपाले जनाएको छ।

अहिले दुई अध्यक्ष बालुवाटारमा छलफलमा व्यस्त छन्। पार्टी एकतालाई बचाउने गरी सहमतिका आधारहरू खोज्ने दुई अध्यक्षबीच हिजो सहमति भएको थियो।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली स्वेच्छाचारी ढङ्गले अगाडि बढेको, पार्टी र सरकार प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसकेको र पार्टी एकतालाई मजबुत बनाउन नसकेको आरोप प्रचण्डसहित वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमलगायतको छ।

स्थायी समिति बैठकमा दाहाल–नेपाल पक्षीय स्थायी समिति सदस्यहरूले ओलीको दुबै पदबाट राजीनामा माग्दै आएका छन्।

गएको साता तत्कालीन एमालेका महासचिव स्वर्गीय मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा ओलीले आफूलाई भारतले पदबाट हटाउन षड्यन्त्र गरेको र पार्टीभित्रकै नेताहरूले सहयोग गरेको अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिपछि प्रचण्ड–नेपाल पक्षीय नेताहरू झनै आक्रोशित भए।

प्रकाशित : २२ असार २०७७, सोमबार ००:००