२० माघ २०८१, आइतबार । February 2, 2025

समाचार

डुबेर ७ जनाको मृत्यु



काठमाडौं, २० असार । सप्तरीको राजविराज नगरपालिका–११ फरछौट बस्ने राजेन्द्र साहको ११ वर्षीय छोरा नन्दकिशोर साहको सोही स्थानमा रहेको पोखरीमा डुबेर मृत्यु भएको छ।

नुहाउने क्रममा पोखरीमा डुबेर सिकिस्त भएका उनको उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

मोरङको जहदा गाउँपालिका–३ मा रहेको पोखरीमा डुबेर सोही ठाउँ बस्ने १८ वर्षीय दिनेश राजबंशी र २० वर्षीय रिक्की राजबंशीको मृत्यु भएको छ।

पौडी खेल्ने क्रममा डुब्दा रिक्कीको घटनास्थलमै र दिनेशको उपचारको लागि कोशी अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

काभ्रेको बेथानचोक गाउँपालिका–३ बस्ने ३५ वर्षीय राजकुमार श्रेष्ठको सोही ठाउँस्थित लडकु खोलामा डुबेर शुक्रबार साँझ मृत्यु भएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका–३ बस्ने ६५ वर्षीय लोकबहादुर पुनको सोही ठाउँस्थित सल्लेबल्ले खोलामा डुबेर आज (शनिबार) बिहान मृत्यु भएको छ।

रूपन्देहीको कञ्चन गाउँपालिकाको वडा नम्बर–४ भैरबघाटस्थित कञ्चन खोलामा पौडी खेल्ने क्रममा सोही ठाउँ अस्नैया बस्ने १८ वर्षीय अर्जुन थापाको डुबेर मृत्यु भएको छ।

धनुषाको मिथिला बिहारी नगरपालिका–९ कठरैत बस्ने जयकुमार पण्डितको ८ वर्षीय छोरा सुरजकुमार पण्डितको सोही ठाउँस्थित रोड छेउमा वर्षातको पानी जमेको खाल्डोमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ।

आफ्नै घरबाट हराएका उनको खोजी गर्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो।

प्रकाशित : २० असार २०७७, शनिबार ००:००