काठमाडौं १९, असार । चीनले पनि अमेरिकी अधिकारीहरूलाई देशमा भिसा प्रतिबन्धको घोषणा गरेको छ।
हालै नयाँ सुरक्षा कानुन लागू गरेपछि हङकङको स्वायत्तता निमोठिएको भन्दै चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीलाई अमेरिकाले भिसा प्रतिबन्धको घोषणा गरेपछि जवाफ स्वरूप चीनले पनि उक्त कदम चालेको हो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले हङकङ मामिलामा अभद्र व्यवहार गरेका अमेरिकी अधिकारीलाई भिसा प्रतिबन्ध गरिएको स्पष्ट पारेका छन्।
उनले अमेरिकी सदनलाई चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीहरूसँग कारोबार गर्ने वित्तिय निकायहरूलाई कारबाही गर्ने विद्येयक पारित नगर्न चेतावनीसमेत दिएका छन।
तर, अमेरिकाको तल्लो सदनले प्रतिबन्धनमा परेका ती चिनियाँ अधिकारीसँग कारोबार गर्ने वित्तिय निकायहरूलाई कारबाही गर्ने कानुन अनुमोदन गरिसकेको छ।
चीनले सुरक्षा कानुन उल्ङ्घन गर्ने हङकङवासीलाई आजिवन काराबासको सजाय तोक्ने कानुन लागू गरेपछि चीन–अमेरिका सम्बन्ध थप चिसिएको छ।
आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चीनले चेतावनी पनि दिँदै आएको छ।
प्रतिक्रिया