१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

पार्टी नेतृत्वले लचकता अपनाउनुपर्छ : विदेश विभाग उपप्रमुख रिजाल



काठमाडौं १७, असार । सत्तारूढ नेपाल कम्युनिस्ट पाटी (नेकपा) को विदेश विभाग उपप्रमुख विष्णु रिजालले पार्टीमा उत्पन्न विवाद र विश्वासको सङ्कट मोचन पार्टी नेतृत्वको लचकताले नै हुने बताएका छन्।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै नेता रिजालले यही बेला नेतृत्वको योग्यता परीक्षण हुने पनि बताए।

उनले दुई अध्यक्षबीचको विश्वासको सङ्कटलाई ‘दुई पाइलट’ ले हाँकेको नेकपाको जहाजमा ‘टर्बुलेन्स’ आएको भन्दै टिप्पणी गरे।

जारी स्थायी कमिटी बैठकमा ओलीले पार्टी र सरकार दुबै प्रभावकारी ढङ्गले चलाउन नसकेको भन्दै राजीनामा माग भएको सन्दर्भकामाझ नेता रिजालको यो अभिव्यक्ति आएको हो।

‘जहाज चर्कोे हावा वा वादलमा फसेको बेला नै कुशल पाइलटको योग्यता परीक्षण हुन्छ।’ रिजालले ट्वीटमार्फत लेखेका छन्।

स्थायी समिति बैठकमा मङ्गलबार पार्टी र सरकारको समिक्षा चल्दा स्थायी कमिटीका १८ जनामध्ये १२ जना सदस्यले एक स्वरमा प्रम ओलीको राजीनामा मागे।

गएको आइतबार प्रम ओलीले भने आफूले नेपालको भूमि भारतबाट फिर्ता ल्याउँछु भन्दै नेपालको नक्सा छाप्दा र निसान छापमा राखेपछि आफूलाई पदबाट हटाउन भारतले खोजेको तर, हटाउन नसक्ने अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिमाथि पनि मङ्गलबारको बैठकमा टिकाटिप्पणी चर्को गरी भएको थियो। सोही क्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतले नभई पहिलेदेखि नै राजीनामा माग्दै आएको प्रष्टिकरण दिएका थिए।

यो परिघटनासँगै नेकपाको आन्तरिक मदभेद फेरि चर्किएको छ।

प्रकाशित : १७ असार २०७७, बुधबार ००:००