१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

स्थायी कमिटीका १८ मध्ये १२ जना सदस्यद्वारा प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग



काठमाडौं १६ , असार । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनु पर्ने स्वर सुनिन थालेको छ।

पार्टी एकताले पूर्णता नपाउँदै मङ्गलबारको बैठकमा १८ जनामध्ये १२ जना स्थायी कमिटी सदस्यले प्रधानमन्त्रीबाट पार्टी अध्यक्षसमेत रहेका ओलीले राजीनामा दिनु पर्ने माग गरे।

राजीनामा दिनु पर्ने भन्नेमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, स्थायी समिति सदस्यहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, रघुजी पन्तलगायत हुन्।

पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठ ‘प्रकाश’ ले भने प्रधानमन्त्री ओलीले स्वर्गीय मदन भण्डारीको ६९ औं जन्मोत्सवको अवसरमा सम्बोधन गर्दै आफूलाई कसैले पनि प्रधानमन्त्रीको पदबाट हटाउन नसक्ने भन्दै दिएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले नामको दल दर्ता सम्बन्धी सवालमा छलफल केन्द्रित भएको बताए।

पदबाट हटाउन नसक्ने भन्ने प्रम ओलीको अभिव्यक्तिमाथि छलफल हुने क्रममा ती १२ जना स्थायी कमिटी सदस्यहरूले पार्टी र सरकार सञ्चालनको गतिविधि प्रभावकारी नभएको टिप्पणी गर्दै राजीनामा मागेको नेपाल निकट एक जना स्थायी कमिटी सदस्यले बताए।

राजीनामाको प्रसङ्ग फेरि उप्किएसँगै यसले नेकपाभित्र आन्तरिक मदभेद सतहमा आएको छ।

प्रकाशित : १६ असार २०७७, मंगलबार ००:००