काठमाडौं १४, असार । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।
डोटी जोराइल गाउँपालिका–२ बस्ने २० वर्षीय भुवन सुब्बाको घटनास्थलमै मृत्यु भएको हो। सुब्बा सवार ना.६ ख ४४५० नम्बरको ट्रक सडकबाट करिब ६ सय मिटर तल खसेर शनिबार साँझ दुर्घटना भएको हो।
कैलाली मालाखेती–६ बस्ने ३३ वर्षीय ट्रक चालक लबकुमार तामाङ घाइते भएका छन्। उपचारका लागि उनलाई डडेल्धुरा अस्पताल लगिएको छ।
बाराको परवानीपुर गाउँपालिका–३ परवानीपुरमा नम्बर नखुलेको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने १६ वर्षीय राजकिशोर साह रौनियारको शनिबार साँझ मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि नारायणी अस्पताल वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। घटनामा संलग्न शंकास्पद २ वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१ ड्राइभर टोलमा बा.७ च ६९५९ नम्बरको कार अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक सोही नगरपालिका–६ बस्ने २८ वर्षीय कृष्णबाबु पाण्डेको चौराह अस्पताल कालिका नगरमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रतिक्रिया