![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/06/image-5.png?resize=701%2C347)
काठमाडौं ११, असार।रूकुम पश्चिमको सोती घटनाका २३ जना अभियुक्तहरू कारागार चलान भएका छन्।
पुर्पक्षका लागि जिल्ला अदालत रूकुमले कारागार चलान गर्न आदेश दिएसँगै बुधबार वडाध्यक्षसमेत रहेका डम्बरबहादुर मल्लसहितका अभियुक्तहरू कारागार चलान भएका हुन्।
गएको शुक्रबारदेखि नै अदालतमा थुनछेक बहस भएको थियो। तर, बुधबार अबेर मात्रै न्यायाधीश विद्याराज पौडेलले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिए।
न्यायाधीश पौडेलले परिवर्तित नाम ५४ रूकुम पश्चिम ३६ ९२० लाई १ लाख रूपैयाँ धरौटी र ३ जना अभियुक्तलाई साधारण तारेखमा छाड्न पनि आदेश दिएका छन्। साधारण तारेखमा छुट्ने अभियुक्तहरू इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्द हुन्।
अदालतले यसअघि नै पुर्पक्षका लागि दुई जना नाबालकलाई बाल सुधार गृहमा पठाउन आदेश दिएको थियो।
अदालतमा ५ जना सरकारी वकिल, जाहेरवालाको तर्फबाट २० जना वकिल र प्रतिवादीहरूको तर्फबाट ७ जना वकिलहरू बहस गरेका थिए।
उक्त घटनाका अझै केही अभियुक्तहरू फरार छन्। गएको जेठ १० गते सोती गाउँमा अभियुक्तहरूलाई नवराज विकसहित ६ जनाको कुटपिट गरेरै ज्यान लिएको अभियोग छ।
प्रतिक्रिया