काठमाडौं ७ असार। निजी विद्यालय सञ्चालकहरूले गएको वर्षको बक्यौता र यस वर्षको केही महिनाको शुल्क बुझाउन अभिभावकहरूलाई आग्रह गरेका छन्।
सरकारले गरेको बन्दाबन्दीका कारण निजी विद्यालयहरू अत्यन्तै जटिल अवस्थामा पुगेको र सम्पूर्ण शैक्षिक गतिविधि प्रभावित हुने भएकोले शुल्क बुझाएर सहयोग गर्न विज्ञप्तीमार्फत निजी विद्यालयहरूले आग्रह गरेका हुन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले ‘बाँचौं र बचाऔं’ को मर्मअनुसार अभिभावकहरूबाट सहयोग प्राप्त हुने अपेक्षा पनि व्यक्त गरेका छन्।
प्याबसन अध्यक्ष टीकाराम पुरी र एन–प्याबसन अध्यक्ष ऋतुराज सापकोटाले शुल्क नउठ्दा निजी विद्यालयहरूमा आबद्ध २ लाख बढी शिक्षक र उनीहरूको परिवारको जीवनयापनमा कठिनाई भएको, भाडामा सञ्चालन भएका विद्यालयहरूको भाडा तिर्न नसकेको, बैंकको ऋणको साँवा/ब्याज तिर्न नसकेको र जसले गर्दा निजी विद्यालयहरूको अस्तित्वमाथि नै प्रश्न चिन्ह उठेको विज्ञप्तीमा उल्लेख गरेका छन्।
निजी विद्यालयमध्ये केहीले अनलाइनबाट पनि पठनपाठन थालेका छन्। बन्दाबन्दीमा पनि पठनपाठनलाई निरन्तरता दिन त्यसो गरिएको बताउने गरेका छन्। यद्यपि, सरकारले भने गएको चैत महिना र अनलाइनमार्फत थालिएको पठनपाठनको शुल्क नलिन निजी विद्यालयहरूलाई निर्देशन दिएको छ।
कोरोना भाइरस महामारीको रूपमा देखिएपछि सरकारले गरेको बन्दाबन्दीबाट सबै खालका शैक्षिक संस्थाहरू बन्द छन्।
प्रतिक्रिया