१८ माघ २०८१, शुक्रबार । February 1, 2025

ग्लोबल

चीन-भारतबीच युद्ध हाेइन, शान्ती : नेपाल



चीन र भारतकाे झन्डा

काठमाडाैं ७, असार। चीन–भारतबीच बढ्दो तनावलाई शान्तिपूर्ण ढङ्गले समाधान गर्नुपर्ने नेपालले सुझाएको छ।

सीमा सवाललाई लिएर बढेको पछिल्लो तनावले सम्भावित युद्धको छनक दिएपछि नेपालले युद्धबाट भन्दापनि शान्तिपूर्ण ढङ्गले समाधान गर्न दुवै देशलाई सुझाएको हो। परराष्ट्र मन्त्रालयले द्विपक्षीय, क्षेत्रीय, विश्व शान्ति र स्थायित्वका लागि असल छिमेकीपनका आधारमा विवाद सल्टाउन आग्रह गरेको छ।

भारतीय र चिनियाँ सेनाबीच गएको सोमबार राति भएको हिंसात्मक झडपमा एक जना अधिकृतसहित २० जना भारतीय सेनाको मृत्यु भएको थियो। त्यसपछि दुई देशबीच तनाव चुलिएको हो।

उक्त घटनालाई लिएर संयुक्त राष्ट्रसंघलेसमेत चिन्ता प्रकट गर्दै दुई देशबीचको समस्या आपसी समझदारीमा सुल्झाउन सुझाव दिएको छ। चीन–भारतबीच सीमा समस्यालाई लिएर बेलाबेलामा तनाव उत्पन्न हुने गरेको छ। विवादीत क्षेत्रमा दुवै देशले आफ्नो गतिविधि बढाउन चाहेको देखिन्छ। र, सीमावर्ती क्षेत्रमा दुवै देशले सेना परिचालन पनि गरेका छन्।


यद्यपि, सीमामा परिचालन भएका सेनाले हतियार बोक्ने गरेका छैनन्। गएको सोमबार राति २० जना भारतीय सेनाको ज्यान जाने गरी भएको हिंसात्मक झडपमा पनि ढुङ्गा, लठ्ठीलगायत हतियारको प्रयोग भएको देखिन्छ।

उक्त, हिंसात्मक झडप ४५ वर्षपछि भएको हो। दुवै देश आणविक हतियार सम्पन्न देश हुन्। जसले गर्दा सकेसम्म युद्ध नहोस् भन्ने पक्षमा विश्वका शक्तिशाली देशहरू पनि चाहन्छन्।

तर, सीमा समस्या नै दुई देशबीच तनाव उत्पन्न हुने कारण बन्ने गरेको छ। यी दुई देशमा ४ हजार किलोमिटरभन्दा लामो खुला सीमा छ। सीमाकै कराण सन् १९६२ मा पहिलो पटक युद्ध भएको थियो।

प्रकाशित : ७ असार २०७७, आइतबार ००:००