![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/06/anugaman-6-1.jpg?resize=720%2C405)
काठमाण्डौ ६, असार । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले निर्माणाधिन मन्त्री निवासको निरीक्षण गरेका छन्।
सहरी विकास मन्त्रालयअन्तर्गत सैबु भैंसेपाटीमा निर्माण भइरहेको सङ्घीय मन्त्री निवासको नेम्बाङले शनिबार स्थलगत निरीक्षण गरेका हुन्।
निरीक्षणपछि मन्त्री नेम्बाङले सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, आयोजना प्रमुख र निर्माण कम्पनीलाई तोकिएकै समयमा आयोजना सम्पन्न गर्न निर्देशन दिए।
लकडाउनका कारण तीन महिना काममा अवरोध भएपनि अब निर्माण क्षेत्रलाई सामान्य रूपमै अघि बढाउनु पर्नेमा जोड दिए।
‘अब निर्माण क्षेत्रलाई सामान्य अवस्थाकै रूपमा अगाडि बढाउनु पर्छ, आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरू अपनाएर कामलाई सामान्य रूपमै अघि बढाउने कार्ययोजना बनाउनुहोस्’ नेम्बाङले निर्देशन दिए।
भौतिक पूर्वाधार निर्माणका क्षेत्रलाई सरकारले सामान्य रूपमै अघि बढाउने निर्णय गरिसकेकाले निर्माण सामग्री ढुवानी तथा कामदार व्यवस्थापनमा कुनै समस्या नहुने बताए।समस्या आए आफूले समन्वय गर्ने समेत मन्त्री नेम्बाङको भनाई छ।
गत वर्षको असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मन्त्री निवासको शिलान्यास गरेका थिए।पुलचोक मन्त्री निवास साँघुरो भएकाले भैसैंपाटीमा अत्याधुनिक मन्त्री निवास निर्माण थालिएको हो।सङ्घीय मन्त्रीको निवाससँगै त्यहाँ प्रदेश सम्पर्क कार्यालयहरूसमेत रहनेछन्।
दुई भागमा निर्माण भइरहेको निवास क्षेत्रको कूल क्षेत्रफल १ सय २४ रोपनी ६ आना रहेको छ।
पहिलो ९६ रोपनी १० आनामा २४ ब्लक मन्त्री निवास, एक राष्ट्रियसभा अध्यक्ष निवास, एक राष्ट्रियसभा उपाध्यक्ष निवास र एक प्रतिनिधिसभाका उपसभामुख गरी २७ वटा ब्लक रहनेछन्।
दोस्रो २७ रोपनी १२ आना क्षेत्रफलमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहनेछ। त्यहाँ सातवटा ब्लक रहेको छ। प्रत्येक ब्लकमा दुइवटा इकाइ रहनेछन्।
एउटा प्रदेश प्रमुख र अर्को मुख्यमन्त्रीको लागि हुनेछ। सबै भवनहरुरू साढे दुई तलाको बन्नेछन्।
सङ्घीय मन्त्री निवासको कूल लागत १ अर्ब ३ करोड ४६ लाख ६८ हजार ४ सय ३७ रूपैयाँ (भ्याटसहित) रहेको छ।
उक्त योजना निर्माणको ठेक्का स्रिको हनुमान जेभीले पाएको छ। त्यस्तै प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयको कूल लागत ७२ करोड ४७ लाख ९४ हजार ८ सय ३४ रूपैयाँ ६५ पैसा (भ्याटसहित) रहेको छ।
यसको निर्माण ठेक्का केसी समानान्तर जेभीले पाएको छ। त्यस्तै मन्त्री नेम्बाङले शनिबार नै गोदावरीमा निर्माण भइरहेको ३ हजार सिट क्षमताको सम्मेलन केन्द्रको पनि निरीक्षण गरेका छन्।
आयोजना प्रमुख तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग भौतिक प्रगतिबारे जानकारी लिनुका साथै समयमै काम सम्पन्न गर्न नेम्बाङले निर्देशन दिए।
अनुगमनमा मन्त्री नेम्बाङसँगै सांसद नवराज सिलवाल, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलिया र सहरी विकास सचिव मधुसुदन अधिकारी सहभागी थिए।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/06/anugaman-1.jpg?resize=720%2C479)
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/06/anugaman-2.jpg?resize=720%2C479)
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/06/anugaman-4.jpg?resize=720%2C479)
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/06/anugaman-5.jpg?resize=720%2C480)
प्रतिक्रिया