२३ माघ २०८१, बुधबार । February 5, 2025

समाचार

ठगी गर्ने म्यानपावरको धरौटीले नपुगे जायजेथाबाटै क्षतिपूर्ति भराइने : बैदेशिक रोजगार विभाग



काठमाडौं । वैदेशिक रोजगारका नाममा ठूलो रकम ठगी गर्ने म्यानपावर सञ्चालकले अब धरौटी रकमले नथामे पनि कानूनी उन्मुक्ति नपाउने भएका छन् । करोडौं ठगी गरेर पीडितलाई क्षतिपूर्ति नदिने म्यानपावर सञ्चालक र दलालहरुको सम्पत्ति तथा जायजथाबाटै क्षतिपूर्ति भराउन वैदेशिक रोजगार विभागले प्रक्रिया थालेको छ ।

विभागले हालसम्म म्यानपावरको धरौटी रकम वा कामदार(पीडक पक्षको आपसी सहमतिमा ठगी भएको रकम फिर्ता गराउँदै आएको छ । जायजेथाबाट पीडितलाई क्षतिपूर्ति भराउने अभ्यास पहिलोपटक थालिएको हो ।

विभागका महानिर्देशक भीष्मकुमार भुसालले ठगी गर्ने म्यानपावरको धरौटी रकम अपुग भए जायजेथाबाटै क्षतिपूर्ति भराउन थालिएको बताए ।

‘विभागमा धरौटी राखिएभन्दा ठूलो(ठूलो रकम ठगी गरेर फरार भएकाहरु छन्, उनीहरुलाई विभागले त्यसै छाड्दैन,’ उनले भने, ‘ठग्नेहरुको चल(अचल सम्पत्तिबाटै भए पनि क्षतिपूर्ति भराउन प्रक्रिया थालेका छौं ।’

केही ठूला ठगीका घटनामा संलग्न म्यानपावर सञ्चालकको जग्गा जमिन र बैंक खाता रोक्का गर्न प्रक्रिया सुरु भएको छ । यस्ता केही म्यानपावरहरु खारेज भइसके पनि उनीहरुमाथि कारबाही हुने बताइएको छ । सरकारले तोकेको नयाँ धरौटी बुझाउन नआएपछि ठूलो रकम ठगीको मुद्दामा मुछिएका म्यानपावरको इजाजत स्वतः खारेज भएको छ ।

विभागमा एकै म्यानपावरले ५ करोड रुपैयाँसम्म ठगी गरेको उजुरी परेको छ । जबकी ४ महिनाअघिसम्म म्यानपावरले विभागमा मुस्किलले ७ लाख मात्रै धरौटी र २३ लाख बैंक ग्यारेन्टी राख्थे ।

ठगीभन्दा धरौटी रकम नै कम भएपछि विभागले उचित तवरले पीडितलाई क्षतिपूर्ति दिलाउन सकेको थिएन । पीडितको संख्या र क्षतिपूर्तिको दाबी रकम ठूलो भए पनि धरौटी रकम ज्यादै अपुग भएपछि विभागलाई त्यस्ता ठूला ठगीको मुद्दामा पीडितलाई न्याय दिलाउन कठीन हुँदै आएको छ ।

‘धरौटीभन्दा कयौं गुणा बढी रकम श्रमिकबाट ठग्ने र आफू सम्पन्न भएर बस्नेलाई विभागले आँखा चिम्लिएर छुट दिँदैन,’ भुसाल भन्छन्, ‘वैदेशिक रोजगार ऐनले दिएको अधिकार प्रयोग गरेरै अब पीडितको रकम भराइन्छ ।’

भुसालले यस्तो कारबाही नथाले भविष्यमा पनि संगठित र योजनाबद्ध ठगीको सिलसिला जारी रहने जोखिम रहेको बताए । हाल बढाइएको धरौटीभन्दा बढी रकम ठगिएको भन्दै परेका उजुरीका आधारमा जायजेथाबाटै भराउने गरी प्रक्रिया थालेपछि एजेन्टहरु अदालतमा मुद्दा लिएर जान थालेका छन् ।

सरकारले ठूला ठगी मौलाएको भन्दै म्यानपावर कम्पनीको धरौटी रकम पनि बढाएको छ । सुरुमा सबै म्यानपावर कम्पनीलाई ६ करोड धरौटी तथा बैंक ग्यारेन्टीको प्रस्ताव गरिएको थियो । तर, व्यवसायीको दबाबपछि कामदार विदेश पठाएको संख्यामा आधारमा स्ल्याब राखेर धरौटी तोकियो । त्यसमध्ये धेरैले ५० लाख नगद धरौटी र १ करोड ५० लाखको बैंक ग्यारेन्टी बुझाएका छन् । वर्षमा ५ हजार बढी कामदार पाउनेले २ करोड नगद धरौटी पनि राखेका छन् ।

प्रकाशित : १८ पुस २०७६, शुक्रबार ००:००