काठमाण्डौ ४ पुष । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सवारी दुर्घटना न्यूनिकरण तथा रोकथाम गर्न योजना बनाएरै अघि बढेको बताउनु भएको छ । आज प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा आफ्नो धारण राख्ने क्रममा यस्तो बताउनु भएको हो ।
समितिमा छोटो धारणा राख्नु भएका मन्त्री नेम्वाङले सडक दुर्घटनाप्रति राष्ट्रपतिबाट संवेदनशीलता व्यक्त भएको र प्रधानमन्त्रीले निर्देशन दिएको बताउनु भयो । उहाँले भन्नुभयो ‘सम्माननीय राष्टपति ज्यूले समेत चासो देखाउनु भएको छ । यसलाई निराकरण गरेर अघि जानको निम्ती सिंगो सरकार सम्माननीय प्रधानमन्त्रीबाट ठोस उपयुक्त र आवशकिय निर्देशन समेत सम्बन्धित निकायहरुलाई प्राप्त भइसकेको छ ।’
मन्त्री नेम्बाङले गृह मन्त्रलाय, भौतिक मन्त्रालय लगायत सरोकारवाला निकायहरुसंग गहन छलफल गरेर सवारी दुर्घटना न्यूनिकरण र रोकथामका लागि प्रतिवेदन तयार गरिएको बताउनु भयो । उहाँले भन्नुभयो ‘गृह, भौतिक तथा सरोकारवाला निकायसंग गहन छलफल गरेर प्रतिवेदन तयार भएको छ । सवारी दुर्घटनाको कारण, अहिलेको अवस्था, विगतको अवस्था र अहिलेको चौमासिकसम्म आईपुग्दाको अवस्थाको समेत प्रतिवेदनमा लेखाजोखा गरिएको छ ।’
दुर्घटनाले मानवीय संवेदनाशीलतालाई अघि सारेको र नियन्त्रणका लागि सबै लाग्नु पर्ने उल्लेख गर्दै दुर्घटनाका धेरै कारणहरु देखिएको र यसलाई न्यूनिकरण गर्ने पनि धेरै उपायहरु रहेको बताउनु भयो । उहाँले भन्नु भयो ‘दुर्घटना रोक्ने दर्जनौ उपायहरु छन् । ती उपायहरुकोे पनि बुदाँमा पहिचान गरिएको छ यसलाई सरकारले नीतिगत रुपमा के गर्नु पर्दछ अल्पकालिन, मध्यकालिन र दिर्घकालिन रुपमा त्यस सम्बन्धी कानुनहरु, नियमावली र विधेयकका रुपमा अघि बढाउने तर्फ मन्त्रालय लागेको छ ।’
मन्त्रालयको जिम्मेवारी सम्हालेर पहिलोपटक समितिमा पुग्नु भएका मन्त्री नेम्वाङलाई समिति सभापति कल्याणी खड्का, समिति सदस्य र कर्मचारीहरुले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया