मंसिर १७, काठमाडौं । मलाई यस्तो बनाउने व्यक्तिले कारवाही भोगेको हेर्ने इच्छा छ, म नमर्दै देख्न पाए हुन्थ्यो’ केही दिन अघि जीवनको अन्तिम समयमा अस्पतालको श्ययाबाट सुष्मा केसीले भनेकी थिइन् । तर पीडक दोषी प्रमाणित भए पनि उनको यो सपना भने अब कहिल्यै पूरा नहुने भएको छ ।
काठमाडौँको एक होटलमा जबर्जस्ती यौन व्यवसायमा लगाइएकी उनी सदाका लागि बिदा भएकी छिन् । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला उनको सोमबार दुःखद् निधन भएको छ । यद्यपि अस्पताल शैयाबाट उनले दिएको बयानका आधारमा प्रहरीले घटनाको अनुसन्धान जारी राखेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
दयनीय अवस्थामा काठमाडौँ बालाजुको माछापोखरीस्थित सडकबाट उद्धार गरिएकी २२ वर्षीया सुष्माको बोली टाठै थियो तर, ज्यान भने गलिसकेको थियो । जीवनको अन्तिम अवस्थासम्म उनले आफ्नो पीडा र चाहना सबैमाझ सुनाएकी थिइन् । प्रहरीसँगको बयानमा आफूलाई यौन व्यवसायमा लगाउने व्यक्ति भनेर उनले केही मान्छेको नाम उल्लेख गरेकी थिइन् । प्रहरीले केही व्यक्तिलाई पक्राउ पनि गरेको छ ।
‘उनले धेरैपटक आफूलाई पीडा दिने व्यक्तिले कारवाही भोगेको हेर्ने इच्छा छ भन्नुहुन्थ्यो, रातदिन नभनी उहाँको जीवन बचाउन विभिन्न अस्पताल लग्यौँ, तर रोगले गलिसकेको अवस्थामा फेला परेकाले बचाउन सकिएन’, पछिल्लो समयमा उनको रेखदेख गर्दै आएको मानव सेवा आश्रमका प्रदेश संयोजक सुमन बर्तौलाले भने ।
उनको सानैमा बिहे भएको थियो । दुई सन्तान जन्मिए । श्रीमानको मृत्युपछि एक महिलाले खाना पकाउने काममा लगाइदिने भनेर काठमाडौँ ल्याएकी थिइन् । केही समय खाना पकाउने काम लगाएपछि होटलले यौन क्रियाकलापमा लगाएको अस्पताल बेडमा रहँदा सुष्माले बताएकी थिइन् । त्यो बेला मदिरासँगै केही धुलोजस्तो खुवाउने गरेकाले ग्राहक आए पनि के गर्छ भन्नेसम्म आफूलाई थाहा नहुने गरेको उनले भनेकी थिइन् ।
होटलमा यौनतृप्तीका लागि नेपालीदेखि विदेशी पनि आउँथे । नमान्दा तातोपानी खन्याएर यातना दिने गरेको पीडा उनले बताएकी थिइन् । उनको शरीरभरि चुरोटले पोलेको र तातोपानीले डामेको घाउ प्रसस्तै देखिन्थो ।
उनको सानैमा बिहे भएको थियो । दुई सन्तान जन्मिए । श्रीमानको मृत्युपछि एक महिलाले खाना पकाउने काममा लगाइदिने भनेर काठमाडौँ ल्याएकी थिइन् । केही समय खाना पकाउने काम लगाएपछि होटलले यौन क्रियाकलापमा लगाएको अस्पताल बेडमा रहँदा सुष्माले बताएकी थिइन् ।
महानगरीय प्रहरी परिसरका अनुसार केही वर्षअघि एक महिलाले होटलमा काम गर्ने भनेर काठमाडौँ ल्याएर उनलाई छाडेकी थिइन् । प्रहरीका अनुसार उनी आन्तरिक बेचबिखनमा परेकी थिइन् । परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले उनको बयानका आधारमा चार जना आरोपीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए ।
‘ज्यानभरि चुरोटैचुरोटले पोलेको अवस्थामा भेटिएको थियो, अस्पतालमा उपचार गराइरहेका थियौँ, कलेजो नै ड्यामेज भएकाले उपचार प्रयास असफल रह्यो’ प्रहरी नायब उपरीक्षक बोगटीले भने । उनको निधन भए पनि आवश्यक प्रमाण जुटाइसकेकाले घटनाको अनुसन्धान भने जारी रहने उन बताए । उनी झण्डै दुई वर्षदेखि यसरी काठमाडौँमा बस्न बाध्य भएको प्रहरीले जनाएको छ ।
कलेजोले काम नगरेको र पेट फुल्ने गरेकाले दैनिक पानी निकाल्ने गरिएको थियो । अस्पतालमा उच्च प्रोटिन दिएर राखिएको थियो । गम्भीर अवस्थामा माछापोखरीस्थित सडकमा महिला रहेको खबर आएपछि मानवसेवा आश्रमले गत कात्तिकमा उद्धार गरी उनलाई अस्पताल पु¥याएको थियो ।
प्रहरीले अहिलेसम्म उनको परिवार पनि फेला पार्न सकेको छैन । उनको उपचार कै क्रममा सोमबार वीरअस्पतालमा निधन भएको छ । उनको शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । प्रहरीले परिवारको खोजी जारी रहेको र पत्ता लागेपछि शव बुझाउने बताएको छ ।
प्रतिक्रिया