१४ कार्तिक २०८१, बुधबार । October 31, 2024

समाचार

हत्यामा संलग्न ४ पक्राउ



मंसिर १३, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ गोबरैयामा बिहीबार बिहान महाकाली नगरपालिका वडा नम्वर ३ का २२ वर्षिय दिपक पन्तको हत्यामा संलग्न ४ जनालाई जिल्ला प्रहरी कार्यालय कंचनपुरले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेका हुन् ।

उनीहरुले मोटरसाइकल ओभरटेक गरेको निहुँमा पन्तलाई कुटपिट गरी हत्या गरेका थिए । बिहीबार बिहान पन्तले मोटरसाइकल ओभरटेक गरेको भन्दै चारजनाको समूहले चक्कु र हेलमेटले हानेर उनको हत्या गरेको थियो ।

हत्या आरोपमा प्रहरीले भीमदत्त नगरपालिका वडा नम्वर ४ का २० बर्षीय मनिष नाथ, वडा नम्वर १५ का २२ बर्षीय गणेश लुहार, सोही ठाउँका २० बर्षीय नविन सिंह र २२ बर्षीय विनोद बोहरलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक नरेन्द्रवहादुर चन्दका अनुसार उनीहरुले पन्तलाई हेल्मेट र चक्कु प्रहार गरी गम्भिर घाईते बनाएका थिए । चक्कु प्रहारबाट घाइते दीपकलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि भारत लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

बिहीबार बिहान घरबाट दीपक बाबु विशन पन्तलाई मोटरसाइकलमा राखेर महेन्द्रनगर बजार आएका थिए । गोबरैया क्षेत्रमा स्कुटी र मोटरसाइकलमा सवार चारजनाको समूहले मोटरसाइकल रोकेर उक्त समूहले एकाएक आक्रमण गरेका थिए । कुटपिटबाट गम्भिर भएपछि फरार भएका थिए ।

प्रहरीले मनोज नाथ यसअघि पनि हत्या आरोपमा फरार अभियुक्तको सूचिमा रहेको जनाएको छ । महेन्द्रनगरको एयरपोर्ट रहेको मजगाउँमा दशैअघि लागेको रामलिला मेलामा चक्कु प्रहार गरि फरार भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै, घटनामा प्रयोग भएका चक्कु, मोटरसाइकल र स्कुटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

प्रकाशित : १३ मंसिर २०७६, शुक्रबार ००:००