१३ कार्तिक २०८१, मंगलबार । October 29, 2024

समाचार

जन्तिलाई स्वागतका लागि राष्ट्रपति भण्डारी जनकपुर जाँदै



मंसिर १३, काठमाडौं । विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीहरुलाई स्वगत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आज जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

साधु सन्तसहितका जन्तीहरुलाई राष्ट्रपति भण्डारीले रंगभूमि मैदानमा मध्याह्न स्वागत तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीको जनकपुर आगमनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा समितिले जनाएको छ।

जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच त्रेता युगमा भएको भनिएको बिहेको सम्झनास्वरुप हरेक वर्ष जनकपुरमा रामजानकी विवाह महोत्सव मनाइदै आएको छ ।

पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषभंग, चौथो दिन मटकोर, पाँचौं दिन तिलकोत्सव, छैठौं दिन वैवाहिक कार्यक्रम तथा सातौं दिन रामकलेवा विधिसाथ महोत्सव हुने परम्परा रहेको छ ।

विवाह पञ्चमी महोत्सवमा सहभागी हुन अयोध्याबाट आएका जन्तीहरु बुधबार साँझ महोत्तरीको नाकाबाट नेपाल प्रवेश गरेका थिए । रामकलेवा विधि सम्पन्न भएपछि उनीहरुलाई बस्त्र आभूषणसहित बिदाई गरिन्छ ।

प्रकाशित : १३ मंसिर २०७६, शुक्रबार ००:००