मंसिर १३, काठमाडौं । शनिवार हुने उपनिर्वाचनको लागि निर्वाचन आचारसंहिताको मौन अवधी बिहीवार मध्य राती १२ बजेवाट सुरु भएको छ । मौन अवधी सुरु भएपछि आचार संहिता उल्लंघनका उजुरी निर्वाचन आयोगमा धमाधम दर्ता दर्ता हुन थालेका छन् । निर्वाचन आयोगका अनुसार १६ वटा उजुरी परिसकेका छन् । आचार संहिता उल्लंघन भएको बारे संचारमाध्यममा आएका समाचारलाई पनि आयोगले नोटिसमा लिएको हुनाले यो संख्या अरु बढ्ने आयोगले जनाएको छ ।
‘अहिलेसम्म निर्वाचन आयोगमा १६ वटा उजुरीहरु दर्ता भएका छन्,’ आयोग स्रोतले भन्यो, ‘मिडियामा आएका समाचारहरुको कटिङसमेत संकलन भइरहेकाले आचार संहिता उल्लंघनको संख्या अरु बढ्न सक्ने देखिएको छ ।’
आचार संहिता उल्लंघनविरुद्ध परेका उजुरीहरु सत्ता पक्ष र प्रतिपक्ष दुवैतर्फका छन् । बढीजसो सरकारी पक्षले पदीय दुरुपयोग गरेका उजुरी परेका छन् । त्यसैगरी आचारसंहिता विपरीत सवारी साधन प्रयोग गरेको विषयमा पनि उजुरीहरु परेका छन् ।
उपप्रधानमन्त्री उपेन्द्र यादवले महोत्तरीको पिपरामा गरेको भाषण र दाङको घोराहीमा मुख्यमन्त्री शंकर पोखरेलले गरेको भाषणलाई पनि आयोगले नोटिसमा लिएको स्रोतले अनलाइनखबरलाई बतायो ।
शनिबार देशभरका ५२ स्थानमा उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभाका लागि कास्कीमा उपचुनाव हुँदैछ भने दाङ, बाग्लुङ र भक्तपुरमा प्रदेशसभा सदस्यका लागि उपचुनाव हुँदैछ । त्यस्तै धरान उपमहानगरपालिका, मकालु गाउँपालिका, फाल्गुनन्द गाउँपालिका र पिपरा गाउँपालिकाको प्रमुखका लागि शनिबार मतदान हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपप्रमुखका लागि चुनाव हुँदैछ ।
देशभरिका विभिन्न नगर र गाउँपालिकाका ४३ वडाध्यक्षका लागि शनिबार मतदान हुँदैछ । मतदानका लागि ५५ सय कर्मचारीहरु सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन् । उनीहरु मतदान केन्द्र निर्माणमा व्यस्त छन् ।
प्रतिक्रिया