धुनषाको मिथिला बिहारी नगरपालिका–४ मिथिलेश्वरका प्रकाश मण्डलले दाइजोको निहुँमा श्रीमतीको हत्या गरेका छन् । दाइजोमा दिएको मोटरसाइलक आफ्नो नाममा नामसारी नगरेको भन्दै २२ वर्षीया श्रीमति कुसुम मण्डलको हत्या गरेका हुन् ।प्रकाशको प्रहारबाट घाइते भएकी उनका श्रीमती कुशुमलाई ससुरा रामचन्द्र मण्डलले उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याउँदाल्याउँदै बाटोमै मृत्यु भएको हो ।
शनिबार बिहान माइती पक्ष अस्पताल पुगेका थिए । हत्या गरिएकी कुसुमका बुवा जीबछ मण्डलले दाइजोमा दिएको मोटरसाइकलको नामसारी आर्थिक अभावका कारण गर्न नसकेकै कारण आफ्नी छोरीको हत्या गरेको आरोप लगाएका छन् ।‘ज्वाइँले मोटरसाइकल नामसारीका लागि पटक–पटक दवाव दिँदै आएका थिए, तर रकम नहुँदा केही समय पर्खन अनुरोध गरेका थियौं । त्यही झोकमा छोरीको हत्या गरेछन् ।’कुशुमका बुबाले भने ।
घटनाबारे गाउँलेले जानकारी दिएपछि अस्पताल आएको उनले बताए । कुसुमको शव अहिले प्रादेशिक अस्पतालको पोष्टमार्टमका लागि राखिएको छ । अस्पतालका चिकित्सकले पनि कुसुमको हत्या भएको बताएका छन् । कुसुमको विवाह प्रकाशसँग डेढ वर्षअघि भएको थियो ।
विवाहमा दुई लाख नगद, अपाचे मोटरसाइकल, सुन र १५ तोला चाँदीसमेत दाइजो माइती पक्षले दिएको बताएका छन् ।धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
प्रतिक्रिया