मंसिर, २ काठमाडौं । प्रधानमन्त्रीले आफूहरुलाई समय नदिएको भन्दै मिर्गौला पीडितहरुको एक समूहले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडी प्रदर्शन गरेका छन् । मिर्गौला पीडितहरुको समूहले निःशुल्क हेमोडायलासिस लगायतको सुविधा उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरेका हुन् ।
उक्त समूह १४ बुँदे माग सहितको ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडितहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कोसिस गरेका थिए, तर समय नदिएको भन्दै उनीहरु नाराबाजी गर्दै फर्किएका थिए ।
सुरक्षाकर्मीहरुले पीडितका केही प्रतिनिधिहरुलाई प्रधानमन्त्री निवासको मूल गेटबाट भित्र पनि प्रवेश गराएका थिए । तर, भेट्न नपाएपछि उनीहरु फर्किए । प्रधानमन्त्री आफैं मिर्गौला पीडित भएर पनि आफूहरुको गुनासो नसुनेको भन्दै उनीहरुले आक्रोश पोखे ।
मिर्गौला पीडित सरोकार समाजको नेतृत्वमा सोमबार बिहान बालुवाटार पुगेका उनीहरुले जीवीकोपार्जन वापतको मासिक भत्ता, डायलासिसमा दिँदै आएको सुविधा यथावत राख्न माग गर्दै प्रदर्शन गरे ।
पीडितहरुले जीविकोपार्जन वापतको मासिक भत्ता ५ हजार उपलब्ध गराउनुपर्ने, निःशुल्क हेमोडाइलाइसिसको सुविधा पाउनुपर्ने, विरामी कुरुवा बस्ने स्थानको उचित व्यवस्था हुनुपर्ने, डायलासिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्नेलगायत माग राखेका छन् ।
प्रतिक्रिया