![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/11/chch.jpg?resize=579%2C361)
२६ कात्तिक, तनहुँको भानु नगरपालिका स्थित बिभिन्न वडाहरुमा मानव जातीमा चितुवाको आक्रमण बढेपछि काठको खोरमा पारेर मानव जातीलाई अक्रमण गर्ने चितुवालाई नियन्त्रणमा ल्याइएको छ ।
चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट विज्ञसहितको टोली खटिएको एक हप्तामै एउटा चितुवालाई खोरमा पारेर नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए । “खोरमा पारेर नियन्त्रणमा लिइएको चितुवालाई कहाँ लैजाने भन्ने बारेमा छलफल भइरहेको छ”, बताए।
उक्त नगरपालिकाका वडा नं १, २, ३ र ४ मा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट छ बालबालिकाले ज्यान गुमाएका छन् । गत असोज १६ र यही कात्तिक ११ गते पनि काठको खोरमा पारेर चितुवालाई नियन्त्रणमा लिइएको थियो । काठको खोरमा पारेर चितुवा नियन्त्रणमा आए पनि बालबालिकामाथि चितुवाको आक्रमण रोकिएको छैन । भानुका जङ्गलमा थुप्रै सङ्ख्यामा चितुवा रहेका अनुमान गरिएको छ ।
डिभिजन वन प्रमुख बरालका अनुसार चितुवा नियन्त्रणका लागि काठको खोर प्रभावकारी हुने देखिएपछि नौ खोर निर्माण गरी जङ्गलमा राखिएका छन् । चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका छ विज्ञ टोली पनि परिचालित भएका छन् । कोषका विज्ञ डा. नरेश सुवेदीले भानुका जङ्गलमा भएका चितुवा नियन्त्रणका लागि एशियाका विभिन्न देशमा प्रयोग गरिएका प्रविधि परिचालन गरिनेछ ।
पछिल्लो समय बैतडी, अर्घाखाँची र तनहुँमा चितुवा आक्रमणको बढी समस्या रहेको छ । सुवेदीका अनुसार बूढो र घाइते भएको खण्डमा चितुवा आक्रामक हुन्छ । जङ्गलमा आहाराको अभाव हुँदै गएपछि वैकल्पिक आहाराको खोजीमा चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको अध्ययनबाट पुष्टि भएको सुवेदीको भनाइ छ ।
प्रतिक्रिया