प्रदेश नं २ को सरकारले आफ्नो छुट्टै अनुसन्धान ब्यूरो (गुप्तचर) बिभाग गठन गर्ने तयारी सुरु गरेको छ । प्रदेश नं. २ को सरकारले आफ्नो छुट्टै अनुसन्धान व्युरो गठन गर्न विधेयक ल्याउने तयारी गरिरहेको प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाका अनुसार वर्तमान संविधानले दिएको अधिकार प्रयोग गरी प्रदेश अनुसन्धान ब्यूरो गठन गर्न विधेयक ल्याउन लागिएको जानकारी गराए । यसअघि नै प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी विधेयक संसद्बाट पारित गरिसकेको छ ।
प्रदेश सरकारले प्रदेश अनुसन्धान ब्यूरो गठनका लागि चाहिने विधेयक निर्माण प्रक्रियालाई अगाडि बढाइसकिएको भन्दै राज्यमन्त्री कुशवाहाले भने, “विधेयक अहिले कार्य व्यवस्था समितिबाट पारित भएर कानून मन्त्रालयमा आइसकेको र अब प्रदेशसभामा दर्ता हुनेछ ।” केन्द्रमा रहेको राष्ट्रिय अनुसन्धान ब्यूरोले गर्ने प्रवृत्तिकै काम प्रदेश अनुसन्धान ब्यूरोले जनाइएको छ ।
केन्द्रीय ब्यूरोले देशभरि काम गर्छ भने प्रदेश अनुसन्धान ब्यूरोले प्रदेशभरि सूचना सङ्कलन लगायतका काम गर्ने उल्लेख गर्दै मन्त्री कुशवाहाले संविधानमा उल्लेख भएअनुसार संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै प्रदेश अनुसन्धान ब्यूरो गठन हुन लागेकाले यसमा विवाद गर्ने ठाउँ नरहेको बताउँदै यसले प्रदेश नं. २ लाई मात्रै नभएर राष्ट्रको समृद्धिमा सहयोग पुग्ने दावी गरे । अहिलेसम्म प्रदेशसभाबाट विभिन्न शीर्षकका २१ विधेयक पारित भई कानूनको रुप लिइसकेको र अझ दर्जनौं विधेयक दर्ता हुने अवस्थामा रहेको सो मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया