काठमाडौं, २४ कात्तिक । वान्तवा भाषाको स्थापित पत्रिका ‘बुङ्वाखा’ मासिकले स्थापना गरेको ‘बुङ्वाखा पुरस्कार २०७६’ घोषणा भएको छ ।
वुङ्वाखाद्धारा हरेक बर्ष वान्तावा भाषामा योगदान गर्दै आएका भाषावेसीहरुलाई प्रदान गर्दै आएका चार ओटा पुरस्कारको घोषणा भएको हो ।
‘बुङ्वाखाले ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार’, ‘बुङ्वाखा– पञ्च कुमारी सङ्गीत पुरस्कार’, ‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार’, ‘बुङ्वाखा–धनेन्द्र बादिहाङ स्मृति पुरस्कार’ र ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार’ स्थापना गरेको छ ।
यसबर्ष विष्णु-मकर बान्तवा पुरस्कार प्रा.डा. नोवलकिशोर राईलाई प्रदान गरिने भएको छ । पञ्चकुमारी संगीत पुरस्कार गायिका लीला राई, रनमाया चेन्चेक्वा पुरस्कार पत्रकार रीता राराहाङ, धनेन्द्र बादिहाङ स्मृति पुरस्कार वुङ्वाखाका नियमित स्तम्भकार भक्तबहादुर रुन्छेन्बुङलाई प्रदान गरिने छ । त्यसैगरि श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार १५ औं कविता प्रतियोगितामा प्रथम हुनेलाई प्रदान गरिने बुङ्वाखाका सम्पादक पदम वालाहाङ् राईद्धारा आज जारी प्रेस नोटमा उल्लेख छ ।
‘१५ औं बान्तावा कविता प्रतियोगिता’ आगामी मङ्सिर २३ गते र ‘१५औं वाषिर्कोत्सव’ मङ्सिर २४ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।
१. ‘बुङ्वाखा-विष्णु-मकर बान्तावा राष्ट्रिय पुरस्कार-२०७६’
मिक्लाजुङ गाउँपालिका (साविक रवि) पाँचथरमा जन्मिनु भई हाल ललितपुर निवासी प्रा.डा. नोवल किशोर राईलाई यो पुरस्कार प्रदान गरिने भएको छ । उहाँको ‘बान्तावा व्याकरण’ कृतिको लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । साथै, उहाँले बान्तावा भाषामा पहिलोपटक ‘अ डिस्क्रिप्टिभ स्टडी अफ् बान्तावा’ शीर्षकमा विद्यावारिधि पनि गर्नु भएको छ ।
पुरस्कारको राशी ताम्रपत्रसहित ५१ हजार २ सय ९१ रुपैयाँ रहेको छ । पूर्व मुख्य अञ्चलाधीश स्व. मकर बहादुर बान्तावा र उहाँकी श्रीमती विष्णुदेवी बान्तावाको सम्मानमा उहाँहरूका परिवारले सो पुरस्कारको लागि बुङ्वाखामा अक्षयकोष स्थापना गर्नुभएको हो।
२. ‘बुङ्वाखा- पञ्च कुमारी सङ्गीत पुरस्कार-२०७६’
बान्तावा गायिका लीला राईलाई यो पुरस्कार प्रदान गरिने भएको छ । भोजपुरको होम्ताङमा जन्मिनु भई हाल इटहरीमा बसिरहनु भएको गायिका राईले हालसम्म एक दर्जन जति बान्तावा गीतहरू गाउनु भएको छ ।
कदरपत्रसहित पुरस्कारको राशी रु. ३५ हजार रहेको छ । स्वर्गीय आमा पञ्च कुमारी राईको स्मृतिमा दाजुभाइद्वय गीतकार जीवन मुकारुङ र गायक तथा सङ्गीतकार अशोक मुकारुङले सो पुरस्कारको लागि अक्षयकोष स्थापना गर्नुभएको हो ।
३. ‘बुङ्वाखा-रनमाया चेन्चेक्वा पुरस्कार-२०७६’
सन्दकपुरका गाउँपालिका २, माइमझुवा इलाममा जन्मिनु भई बुङ्वाखाको काठमाडौं संवाददाता तथा इन्डिजिनियस टेलिभिजन र रेडियो कान्तिपुरमा बान्तावा कार्यक्रम सञ्चालक रीता राराहाङ राईलाई यो पुरस्कार प्रदान गरिने भएको छ ।
बुङ्वाखा सल्लाहकार चन्द्र कुमार हतुवाली र उहाँको परिवारले आफ्ना बजु रनमाया राईको स्मृतिमा स्थापना गर्न लाग्नु भएको कदरपत्रसहित सो पुरस्कारको राशी रु. ६ हजार रहेको छ ।
४. ‘बुङ्वाखा-धनेन्द्र बादिहाङ स्मृति पुरस्कार-२०७६’
भोजपुरमा जन्मिनु भई हाल काठमाडौं निवासी बुङ्वाखाका नियमित स्तम्भकार भक्त बहादुर रुछेन्बुङ राईलाई यो पुरस्कार प्रदान गरिने भएको छ ।
आफ्ना भाइको अल्पायुमै स्वर्गारोहण भएकोमा दाजु टीकाराम बादिहाङ राईको पहलमा यो पुरस्कार स्थापना गरिएको हो । कदरपत्रसहित पुरस्कारको राशी रु. ५ हजार रहेको छ ।
प्रतिक्रिया