![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/18700091_113028762617460_8311837143668435365_n.jpg?resize=717%2C960)
हिउँद होस् या बर्खा सदाबहार रिल पहिरो खस्ने गर्छ ।दार्चुलाको मार्मा गाउँपालिका–३ स्थित रिल पहिरो विसं २०४२ को भूकम्पपछि यस क्षेत्रमा खस्न थालेको हो । पहिरो खस्न थालेकै ३४ वर्षभन्दा बढी हुँदा पनि थामिएको छैन् । निरन्तर खसिरहने पहिराका कारण सल्लेथुमका दर्जनभन्दा बढी परिवार विस्थापित भएका छन् । सल्लेथुम डाँडाबाट हिउँद–बर्खा निरन्तर ढुङ्गा–गिट्टी झर्ने क्रम नरोकिएपछि जीवन चलाउन राज्यसंग गुहार माग्नुको विकल्प उनीहरुसंग छैन् । रिल पहिराका कारण विटुले–पारिबगर सडक खण्ड बेलाबेलामा अवरुद्धसमेत हुने गरेको छ । झण्डै ३०० मिटर क्षेत्रमा रिल पहिरो फैलिएको छ । अहिले सल्लेथुम क्षेत्रमा चार–पाँच परिवारको मात्र बसोवास छ । पहिराकै कारण यहाँका स्थानीय विस्थापित भएका हुन् । खेतीयोग्य जमीन पूरै पहिराले बगाएपछि स्थानीयवासी निकै चिन्तित छन् । “बर्खाको समयमा पानी प¥यो भने पहिरा हेररै बस्नुपर्ने हुन्छ, पैसा हुनेहरु अन्य ठाउँमा बसाइँसराइ गरे, हामी यतै छौँ, पटक–पटक उचित ठाउँमा बस्ती व्यवस्थापन गर्न भनेका छौँ, अहिलेसम्म राज्यले हेरेकै छैन”, यस क्षेत्रमा बस्दै आउनुभएका पहिरापीडित वीरेन्द्र विष्टले भने, “पहिरामाथि घर छ, घरभन्दा पाँच मिटर तलसम्म पहिरो पुगेको छ, कुन दिन यहीँ बचेका घरहरु पनि यहीँ पहिरामा जान्छ थाहा छैन ।” दर्जन परिवार यसअघि कोही मार्माकै सार्सी र कोही तपोवनमा घर जग्गा किनेर बसेका छन् । पैसा नहुने अहिले पनि हिउँद–बर्खाको पहिरा हेरेरै बस्नु परेको छ । अन्य क्षेत्रमा बसाइँ सर्न पनि जग्गाजमीन छैन । रिल पहिरा क्षेत्रको झण्डै ५०० मिटर माथिबाट पहिरो आइरहन्छ । “भूकम्पले दरार बनाएपछि भित्र पानी पस्यो”, विष्टले भने, “त्यसपछि यो क्षेत्र जहिल्यै पहिरो खसिरहने रिल पहिरोका रूपमा परिचित भयो । अहिले पनि पहिरोको भित्र पानीको मुहान छ । भित्र पानी बग्छ माथिबाट पहिरो खस्छ ।” स्थानीयवासी रनवीर विष्टका अनुसार पहिरा गएपछि यहाँका स्थानीयवासीले राहत क्षतिपूर्तिसमेत अझेसम्म पाएका छैन । विगतमा विटुले पारिबगड सडक निर्माणका क्रममा ग्रामीण विकेन्द्रित पूर्वाधार कार्यक्रमले डोजर लगाएर सडक काटेपछि झनै जोखिम बढेको हो । पहिराको गति रोक्नका लागि ठाउँठाउँमा ग्याबिन जाली राखिए पनि पहिरा रोक्न सक्दैन । पहिराको मुहान नरोकिएका कारण गाउँमा बस्नै समस्या हुने गरेको छ । पहिराका कारण हरेक वर्ष सडक अवरुद्ध हुँदै आएको छ । सडक पन्छाउँदै जीप सञ्चालन गर्ने गरे पनि एक साताभन्दा बढी समयसम्म टिक्दैन । यही सडकले स्थानीयवासी होस् या यातायात व्यवसायी सबैलाई समस्या सिर्जना गरेको छ । अहिले स्थानीय सरकारले पहिरा क्षेत्रमा पालिकाकै डोजर लगाएर सडक खुलाउने काम गर्ने गरिएको मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताउनुभयो । उहाँले निरन्तर सानो सानो ढुङ्गा खसेर सडक अवरुद्ध हुने बित्तिकै गाउँपालिकाले सडक खुलाउने गरेको छ बताउनुभयो । उहाँका अनुसार विगतको जस्तो लामो समय सडक अवरुद्ध हुन दिइएको छैन । उक्त क्षेत्रमा सडकको ‘एलाइटमेन्ट’ नै परिवर्तन गर्नुपर्ने अवस्था आएको जानकारहरु बताउँछन् । दीर्घकालीनरूपमा सडक सञ्चालनका लागि पारिपट्टि मोटरपुल लगाएर सडक काट्नुको विकल्प छैन । यस क्षेत्रबाट निस्कने ढुङ्गा–गिट्टीलाई गाउँपालिकाको चालू आर्थिक वर्षबाट ठेक्कामा लगाउने तयारीसमेत थालेको छ । पूरै डाँडाबाट खस्ने रिल पहिरालाई ठेक्कामा लगाएर गाउँपालिकाका आन्तरिक राजश्व बढाउन सकिने सुझाव आएपछि ठेक्कामार्फत खेर गएको ढुङ्गा गिट्टी बिक्री गर्ने तयारी थालिएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया