२५ माघ २०८१, शुक्रबार । February 7, 2025

मुख्य खबर

तामा, स्लेट र फलाम खानी उत्खनन र संरक्षण नगर्ने ? अनि विदेश ताक्ने नेपालीको उल्टो वुद्धि !



नेपाल प्राकृतिक सम्पदाको दृष्टिकोणले सम्पन्न छ भन्ने कुरा सवैलाई ज्ञात छ,तर त्यहिँ स्रोत साधनलाई सहि ढंगले उपयोग गर्ने कला,शीप,नीति एवं वातावरण नहुँदा अधिकत्तर नेपालीहरु खाँडी मुलुकको प्रचण्ड घाममा बेल्चा हान्न पुगेका छन् । राज्यको आवश्यक नीति र दुरदर्शीता छैन भने नागरिकमा जागरुकता र इमान्दारिताको अभाव छ त्यसैले नेपालीहरु कस्तुरी जीवन जीउन बाध्य छन् ।
भनिन्छ नेपालको हरेक थुम्काथुम्कीमा देवता रुपी खनिज पदार्थ रहेका छन् त्यसैले विदेशीहरु पर्यटनको नाममा बहुमूल्य वस्तुहरुको चोरी गर्न आउने गर्छन् भनेर आरोप लाग्ने गरेको छ,यो आरोप कतिको सत्य हो त्यो त अनुसन्धानले बताउँला तर के चाहिँ सत्य हो भने नेपालको हरेक डाँडापाख,भीर पखेरा,थुम्काथुम्की र खोलानाला प्राकृतिक सुन्दरताले भरिपूर्ण छ भने वित्तिय दृष्टिकोणले बहु उपयोगी पनि छ ।

म्याग्दीको तामाखानी रहेको ओखरेबोट गाउँ

हिमाली जिल्ला म्याग्दीको विभिन्न ठाउँमा रहेका तामा र स्लेट संरक्षण र उत्खनन अहिलेसम्म हुन सकेको छैन् । म्याग्दीको पश्चिम र उत्तरी क्षेत्रको विभिन्न ठाउँमा रहेका यस प्रकारका खनिज पदार्थका खानीहरु उत्खनन नहुँदा वर्षौंदेखि अलपत्र अवस्थामा छन् ।

तामा, स्लेट ९घर छाउने ढुङ्गा०, शिलाजित, खरी, चुनढुङ्गा एवं फलामका खानी वर्षौंदेखि उत्खननसंगै संरक्षण हुन नसकेपछि पुरिँदै गएको स्थानीय बताउँछन् । खानीहरूको सम्भाव्यता अध्ययन गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् । तर रुम र लुलाङमा रहेका स्लेट खानीबाट परम्परागत रूपमा उत्खनन भने भइरहेको छ । भगवतीको खरिढुङ्गा खानी वर्षौंदेखि बन्द छ । 

त्यसैगरी ओखरबोटको तामाखानी आधा दशकदेखि बन्द अवस्थामा रहेको छ । स्थानीय बूढापाकाका अनुसार यहाँ तामा खानी २०० वर्षसम्म सञ्चालनमा थिए । तत्कालीन सरकारले खानी उत्खनन गरेबापत लिने कर ९भेजा० तिर्न नसकेपछि खानी उत्खनन कार्य बन्द भएको थियो ।
राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा खानी उत्खनन गरेर हुने आम्दानीभन्दा बढी कर तिर्नुपर्ने अवस्था आएपछि तामा खानी बन्द भएको ताकम–९ मच्छिमका चन्द्रबहादुर छन्त्यालले बताए । “तत्कालीन सरकारको कर नीतिका कारण हाम्रा पुर्खाले उत्खनन गर्न छाडेका हुन्”, उनले भने  ।
गुर्जा, ताकम, कुइनेमङ्गले, ओखरबोट, मल्कवाङ, भकिम्ली लगायतका गाउँमा करीब २० वटा तामा खानी रहेका छन् । उत्खननका लागि छन्त्याल समुदायलाई जिम्मेवारी दिइएको थियो । विसं २०६८ को जनगणनाअनुसार छन्त्याल जातिको जनसङ्ख्या ११ हजार रहेको छ ।



परम्परागत पेशाबाट विस्थापित उनीहरू पछिल्लो समय वैदेशिक रोजगारी र अन्य पेशामा आबद्ध भएका छन् । म्याग्दी र बागलुङको बुर्तिवाङ क्षेत्र छन्त्याल समुदायको परम्परागत थातथलो हो । छन्त्याल समुदायले उत्खनन गरेका धातु दलित समुदायले प्रशोधन गरेपछि थकाली समुदायले देशका विभिन्न स्थानमा लगेर बिक्री गर्ने गर्दथे । त्यतिबेला छन्त्याल समुदायले माटो सुँघेर पनि खानी पत्ता लगाउने गरेको सिवाङका गिरिप्रसाद छन्त्यालको भनाइ छ । “यहाँका खानीको सम्भाव्यता अध्ययन र संरक्षण आवश्यक छ”, छन्त्यालले भने ।

खानी रहेका ठाउँ अहिले पुरिँदै गएका छन् । खानी उत्खनन गर्न सयाँै मिटर लामो सुरुङ खनिएका अझै यहाँ भेटिन्छन् । प्रशोधनपछि काम नलाग्ने भएर फालिएका धातुका टुक्रा यत्रतत्र छरिएर रहेका अझै भेटिन्छन् । तत्कालीन अवस्थामा छिना, गल, घन, कुटो र कोदालोको प्रयोग गरेर खानी उत्खनन गर्ने चलन थियो । खानी उत्खनन गर्न सरकारले कदम चाल्नुपर्ने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यको भनाइ छ । नीतिगतरूपमा सहज र पूर्वाधारको विकास भए खानी उत्खननका लोगि लगानीको कुनै समस्या नहुने कर्मचार्यको धारणा छ । त्यस्तै ताप्लेजुङ,पाँचथर लगायत देशको विभिन्न जिल्लामा यस प्रकारको खनिजका खानी बेस्याहार एवं अलपत्र अवश्थामा रहेका छन् । 

प्रकाशित : १५ भाद्र २०७६, आइतबार ००:००