२५ माघ २०८१, शुक्रबार । February 7, 2025

मुख्य खबर

स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा शुरु



म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा सञ्चालन भएको छ । मालिका, धवलागिरि, मङ्गला र तमानखोला गाउँपालिकाका बासिन्दालाई अल्ट्रासाउण्ड सेवाका लागि सदरमुकाम बेनी, बागलुङ, पोखरा पुग्नुपर्ने बाध्यता अब हटेको छ । गाउँमै सेवा पाएपछि गर्भको बच्चाको अवस्था पहिचानका लागि अल्ट्रासाउण्ड गर्न सदरमुकाम पुग्दा हुने समय र पैसाको बचत भएको दरवाङकी कमला विश्वकर्माले बताए । “बेनी जान–आउन पूरै दिन लाग्ने थियो । रु दुई, तीन हजार खर्च हुन्थ्यो”, उनले भने, “गाउँमै सेवा पाएपछि सजिलोका साथै समय र पैसाको बचत भयो ।” गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको रु २० लाख सहयोगमा मालिका गाउँपालिकाले अल्ट्रासाउण्डलगायतका उपकरण खरीद गरेर केन्द्रलाई उपलब्ध गराएको वडाध्यक्ष सन्तोष सुवेदीले बताइन् । अल्ट्रासाउण्ड सेवा शुरु भएपछि गर्भको बच्चाको अवस्था, पित्तथैली, मिर्गाैला, मूत्रथैलीको पत्थरी, कलेजोको रोग पत्ता लगाउन सहज भएको केन्द्रका डा तिलक गौतमले बताए । रोगको पहिचान गर्न सजिलो हुने र बिरामीले सहज तथा सर्वसुलभ रूपमा सेवा पाएका छन् । अल्ट्रा साउण्डका साथै अक्सिजन कन्सटेटर, नवजात शिशुलाई न्यानो बनाउने उपकरण, आकस्मिक ट्रलीसमेत उपलब्ध गराइएको छ । केन्द्रबाट गत आर्थिक वर्षमा १६ हजार जनाले सेवा लिएका थिए । स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र सहज बनाउन विद्युत्को वैकल्पिक व्यवस्था गर्न जेनेरेटर, सोलार, भिडियो एक्सरे र ल्याबका उपकरण आवश्यक रहेको स्वास्थ्य केन्द्रका प्रमुख डा गणेश श्रेष्ठले बताउनुभयो । सामाजिक विकासमन्त्री नरदेवी पुनले स्वास्थ्यसेवाको गुणस्तर सुधारका लागि दरबन्दीअनुसारका जनशक्ति, उपकरण र पूर्वाधारमा जोड दिएको बताए । गत आर्थिक वर्षमा प्रदेशका स्वास्थ्य संस्था र अस्पताललाई रु ३२ करोड मूल्यका उपकरण सहयोग गरेको उनले जानकारी दिए ।

प्रकाशित : ८ भाद्र २०७६, आइतबार ००:००