२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

ग्लोबल

लाओसमा पर्यटक बस दुर्घटनाग्रस्त, १३ चिनियाँ पर्यटकको मृत्यु



बैंकक, ३ भदौ (रासस-एएफपी) – लाओसमा पर्यटक चढेको बस सोमबार अबेर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जना चिनियाँ पर्यटकको मृत्यु हुनुका साथै अरु एक दर्जन घाइते भएका छन् । स्थानीय एक प्रहरी अधिकारीका अनुसार उक्त बस सडकबाट चिप्लिएर करिब ३० मिटर गहिरो खोल्सोमा झरेको थियो । उक्त बस पर्यटकीय नगर लुआङ प्रबाङतर्फ ४० जनाभन्दा बढी पर्यटक लिएर गइरहेको थियो । प्रहरी अधिकारी झायाफोन चिताभोङले १३ जनाको मृत्यु भएको र अरु दुई जना अझै हराइरहेको जानकारी दिनुभयो । उहाँले ब्रेकले काम नगरेका कारण बस दुर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताउनुभयो । घाइते ३१ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । लाओस, थाइल्यान्ड, कम्बोडिया र म्यान्मारमा सवारी दुर्घटना सामान्यजस्तै हुने गरेका छन् । लाओसमा पछिल्ला वर्षहरुमा पर्यटकको आवागमन बाक्लिदै गएको छ । भियतनाम टाइम्सका अनुसार सन् २०१९ मा अघिल्लो वर्षको तुलनामा चिनियाँ पर्यटकको संख्या १३ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित : ३ भाद्र २०७६, मंगलबार ००:००